एनएमएको नयाँ नेतृत्वलाई अध्यक्षका प्रत्याशी चिकित्सकहरूको सुझावः सुशासन, पेशागत सुरक्षा र एकतामा जोड
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै यसअघि विभिन्न समयमा अध्यक्ष पदका उम्मेदवार बनेका चिकित्सकहरूले संघको प्रभावकारिता, संस्थागत सुशासन, चिकित्सकको पेशागत सुरक्षा तथा एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
संघको ३३औँ कार्यसमिति (२०८२–२०८५) का लागि यही वैशाखमा सम्पन्न निर्वाचनबाट डा. बद्री रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त कार्यसमितिले जेठ १७ गते चितवनमा आयोजित ३०औँ अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन–२०२६) को विशेष समारोहबाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
नयाँ नेतृत्व चयन भएसँगै विभिन्न कार्यकालमा अध्यक्ष पदका प्रत्याशी बनेका चिकित्सकहरूले चिकित्सकहरूको पेशागत सुरक्षा, सेवा वातावरण, मनोबल अभिवृद्धि, संस्थागत सुशासन, युवा पुस्ताको सहभागिता तथा राजनीतिक प्रभावबाट मुक्त नेतृत्वको आवश्यकता औँल्याएका छन्।
२०६५–२०६७ कार्यकालका लागि अध्यक्षका प्रत्याशी डा. गणेश गुरुङले वर्तमान अवस्थामा चिकित्सकहरूको पेशागत सुरक्षा, सेवा वातावरण र सीपीडी (निरन्तर व्यावसायिक विकास) लाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सरकारसँग प्रभावकारी संवाद र सहकार्य गर्न सके नेपाल चिकित्सक संघ अझ सशक्त, प्रभावकारी र चिकित्सकमैत्री संस्था बन्न सक्ने धारणा व्यक्त गरे।
त्यस्तै २०७६–२०७९ कार्यकालका अध्यक्ष प्रत्याशी डा. रमेश ढकालले नेपाल चिकित्सक संघको विगतको गरिमा पछिल्ला वर्षहरूमा केही कमजोर बनेको टिप्पणी गरे। नयाँ नेतृत्वले चिकित्सकहरूको इज्जत, पेशागत मर्यादा र हकहितलाई केन्द्रमा राख्दै राज्यका नीति–निर्माण तहसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ। साथै नयाँ पुस्ताका चिकित्सकलाई नेतृत्व र निर्णय प्रक्रियामा समेट्दै चिकित्सा शिक्षा तथा चिकित्सा पेशालाई अझ मर्यादित, सुदृढ र व्यवस्थित बनाउन विशेष ध्यान दिनुपर्ने उनले बताए।
एनएमए निर्वाचन (२०८२–२०८५) मा अध्यक्ष पदका प्रत्याशी डा. मंगल रावलले उम्मेदवारीका क्रममा उठाएका एजेन्डाहरू स्मरण गराउँदै संघको आन्तरिक सुशासन सुधार, नेतृत्वमा युवा पुस्तालाई अवसर तथा चिकित्सकमाथि बढिरहेका कानुनी मुद्दाहरूलाई संस्थागत रूपमा सामना गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नयाँ नेतृत्वले चिकित्सकहरूको पेशागत अधिकार र सुरक्षाका विषयमा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।
त्यस्तै यही कार्यकालमा अध्यक्ष पदका अर्का प्रत्याशी डा. नारायण भुषालले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त हरेक चिकित्सक स्वतः नेपाल चिकित्सक संघको सदस्य बन्ने व्यवस्था आवश्यक रहेको धारणा राखे। उनका अनुसार यस्तो व्यवस्थाले संघको प्रतिनिधित्व र संस्थागत बलियोपन बढाउनेछ। उनले चिकित्सकबीच एकता, आत्मीयता, सहकार्य र पेशाप्रतिको गर्व बढाउने वातावरण निर्माणमा संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।







..jpeg)














प्रतिकृया दिनुहोस