तीन सांसदसहित नौ जनाले गरे मृत्युपछि अङ्गदानको घोषणा
भक्तपुर। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरका तीन सांसदसहित नौ जनाले मृत्युपछि अङ्गदान गर्ने घोषणा गरेका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गङ्गालक्ष्मी अवाल तथा पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डेसहित नौ जनाले अङ्गदान गर्ने मञ्जुरी दिएका हुन्। केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले उनीहरूलाई अङ्गदानको प्रमाणपत्र प्रदान गरिन्।
यससँगै नेपालमा मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्ने मञ्जुरी दिने व्यक्तिको सङ्ख्या दुई हजार ७९९ पुगेको केन्द्रले जनाएको छ।
डा. श्रेष्ठले जीवित दाताबाट अङ्ग लिएर प्रत्यारोपण गर्दा दाता र ग्रहणकर्ता दुवैको उपचार तथा व्यवस्थापनमा बढी खर्च हुने भएकाले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुने प्रणालीलाई विस्तार गर्नुपर्ने बताइन्। उनले अङ्गदान तथा प्रत्यारोपण सेवा विस्तारका लागि केन्द्रलाई आवश्यक जग्गा र भौतिक पूर्वाधार उपलब्ध गराउनसमेत माग गरिन्।
प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले मिर्गौला रोगको समस्या बढ्दै गएको र अङ्गको अभावका कारण कतिपय बिरामीले ज्यान गुमाउनुपरेको बताए। उनले मिर्गौला रोगको रोकथामसँगै अङ्गदानबारे व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गरे।
सांसद रुकेश रञ्जितले अङ्ग प्रत्यारोपण सेवा विस्तारका लागि सातवटै प्रदेशमा प्रत्यारोपण केन्द्र स्थापना गर्नुपर्ने बताए। सांसद राजीव खत्री र गङ्गालक्ष्मी अवालले अङ्गदानसम्बन्धी जनचेतना विस्तार तथा सामाजिक धारणा परिवर्तनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार तथा अङ्गदान प्रक्रियामा संलग्न अस्पताललाई सम्मान गरिएको थियो।




..jpeg)















प्रतिकृया दिनुहोस