स्वास्थ्य बीमाको आबद्धता र नवीकरण अब अनलाइनबाट
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले नयाँ आबद्धता, बीमालेख नवीकरण र केवाईसी विवरण अद्यावधिक गर्न सकिने एचआईबी ई–पोर्टल सञ्चालनमा ल्याएको छ। साउन २९ देखि eportal.hib.gov.np मार्फत स्वास्थ्य बीमासम्बन्धी सेवा अनलाइन लिन सकिने बोर्डले जनाएको छ।
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ अनुसार सञ्चालनमा ल्याइएको पोर्टल राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग अन्तरआबद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने डिजिटल विवरण म्यानुअल रूपमा पेश गर्न सक्ने व्यवस्था छ।
अब बीमाको प्रिमियम इसेवा, खल्ती र कनेक्टआईपीएसमार्फत भुक्तानी गर्न सकिनेछ। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत नयाँ आबद्धता तथा नवीकरण गर्न सकिने बोर्डले जनाएको छ।
यसअघि स्वास्थ्य बीमा गरिसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी केवाईसी अद्यावधिक र नवीकरण गर्न सक्नेछन्। कार्यालय तथा संगठित क्षेत्रबाट एकैपटक धेरै परिवारको बल्क इनरोलमेन्ट र नवीकरणसमेत गर्न सकिने व्यवस्था गरिएको छ।
जिल्ला तथा प्रदेश तहबाट प्रमाणीकरण भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुनेछ। बोर्डका अनुसार ई–पोर्टल कार्यान्वयनसँगै स्वास्थ्य बीमाको आबद्धता र नवीकरण सहज हुनुका साथै सेवाग्राहीको समय बचत, तथ्यांकको शुद्धता र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ। बोर्डका प्रवक्ता डा. पवनकुमार साहले ई–पोर्टललाई स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल बनाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।




..jpeg)
















प्रतिकृया दिनुहोस