क्यान्सरका अत्यावश्यक औषधिको मूल्य बढाउन भारत सरकारको स्वीकृति
नयाँ दिल्ली । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको देशव्यापी अभावपछि भारत सरकारले ती औषधिको मूल्य समायोजन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
भारतीय औषधि विभागले राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) लाई सिस्प्लाटिन, कार्बोप्लाटिनसहित चारवटा आवश्यक औषधिको मूल्य पुनरावलोकन गर्न अनुमति दिएको हो। मूल्य नियन्त्रणका कारण उत्पादन लागतअनुसार मूल्य समायोजन हुन नसक्दा उत्पादक कम्पनीहरूले उत्पादन घटाएपछि बजारमा अभाव सिर्जना भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार यी औषधिको उत्पादनमा प्रयोग हुने प्लेटिनमको अन्तर्राष्ट्रिय मूल्य वृद्धि, आयात शुल्क र विनिमय दरमा आएको उतारचढावले उत्पादन लागत बढाएको छ।
सिस्प्लाटिन र कार्बोप्लाटिन मुख, फोक्सो, स्तन, पाठेघरको मुख, अन्ननली तथा डिम्बाशयलगायत विभिन्न क्यान्सरको उपचारमा व्यापक रूपमा प्रयोग हुने औषधि हुन्। अभावका कारण क्यान्सर बिरामीको उपचार प्रभावित भएपछि अस्पताल र चिकित्सकहरूले सरकारसँग हस्तक्षेपको माग गर्दै आएका थिए।
प्रारम्भिक अनुमानअनुसार यी औषधिको मूल्य १० देखि ५० प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ। सरकारको निर्णयले उत्पादन वृद्धि भई अत्यावश्यक क्यान्सर औषधिको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।







..jpeg)














प्रतिकृया दिनुहोस