डब्लुएचओमा नेपालको सक्रिय स्वास्थ्य कूटनीति, अन्तर्राष्ट्रिय सहकार्य विस्तार
काठमाडौं । जेनेभामा १८–२३ मे २०२६ सम्म सम्पन्न विश्व स्वास्थ्य सभा (डब्लुएचओ) मा नेपालले स्वास्थ्य कूटनीतिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय स्वास्थ्य नीति निर्माण, द्विपक्षीय सहकार्य विस्तार तथा विश्वव्यापी स्वास्थ्य मुद्दामा नेपालको प्रभावकारी उपस्थिति प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य सभामा नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रको तर्फबाट उपाध्यक्षमा निर्वाचित हुनुका साथै विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी बोर्ड सदस्यका रूपमा समेत सक्रिय रहेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताबारे धारणा राखेकी थिइन्।
सभाका क्रममा भारत, बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड र माल्दिभ्सका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता भएको थियो। भारतसँग स्वास्थ्यसम्बन्धी रोकिएका सम्झौता नवीकरण तथा भारतीय संस्थानहरूमा अध्ययनरत नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र स्टाइपेन्डबारे सकारात्मक छलफल भएको जनाइएको छ।
त्यसैगरी विश्व स्वास्थ्य सङ्गठन, गाभी र ग्लोबल फन्डका पदाधिकारीसँगको भेटमा नेपालको स्वास्थ्य क्षेत्रमा थप अन्तर्राष्ट्रिय सहयोग परिचालन तथा विद्यमान साझेदारीका विषयमा छलफल भएको थियो। नेपालले स्वास्थ्य जनशक्तिको अन्तर्राष्ट्रिय पलायनको मुद्दालाई पनि प्राथमिकताका साथ उठाउँदै ‘इन्टरनेसनल रिक्रुटमेन्ट अफ हेल्थ वर्कफोर्स’ सम्बन्धी प्रस्ताव पारित गराउन नेतृत्वदायी भूमिका खेलेको जनाएको छ।
नेपालले मानसिक स्वास्थ्य, आत्महत्या न्यूनीकरण, मिडवाइफरी, स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, पाठेघरको मुखको क्यान्सर रोकथाम तथा माइग्रेन्ट हेल्थजस्ता विषयमा पनि सक्रिय सहभागिता जनाएको थियो।







..jpeg)














प्रतिकृया दिनुहोस