• ३० श्रावण २०८३, शनिबार

अनुसन्धानको साझा थलो हो 'जेएनएमए'

जर्नल अफ नेपाल मेडिकल एसोसिएसन (जेएनएमए) नेपालको मेडिकल क्षेत्रमा सबैभन्दा पुरानो शैक्षिक तथा अनुसन्धानात्मक प्लेटफर्म हो। सन् १९६३ मा डा. मृगेन्द्रराज पाण्डेको सम्पादनमा यसको स्थापना भएको थियो। सीमित स्रोत–साधन, इन्टरनेटको पहुँच नभएको समय र अनुसन्धान प्रकाशनका लागि पर्याप्त पूर्वाधार नहुँदा पनि नेपालमै अनुसन्धानको संस्कृति विकास गर्ने उद्देश्यका साथ यसको यात्रा सुरु गरिएको थियो।

जेएनएमएको इतिहासलाई हेर्दा विभिन्न चरणमा यसको विकास भएको पाइन्छ। विशेषगरी सन् २०१३ मा डा. एन्जलको नेतृत्वपछि जर्नलले अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण सफलता हासिल गर्‍यो। उहाँकै नेतृत्वमा जेएनएमए ‘पबमेड’ इन्डेक्समा समावेश भएपछि नेपाली अनुसन्धानले विश्वव्यापी पहुँच प्राप्त गर्‍यो। यसले नेपाली अनुसन्धानको विश्वसनीयता, गुणस्तर र दृश्यता उल्लेखनीय रूपमा बढायो।

मैले सन् २०२४ मा एडिटर इन चिफको जिम्मेवारी सम्हालेपछि जेएनएमएलाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छु। सन् २०२५ मा मात्रै हामीले १९६ वटा अनुसन्धानमूलक लेख प्रकाशित गरिसकेका छौं। हाल जेएनएमए अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीको क्यु–३ स्तरमा रहेको छ र यसलाई क्यु–२ हुँदै क्यु–१ स्तरसम्म पुर्‍याउने हाम्रो लक्ष्य छ। यसका लागि सम्पादकीय गुणस्तर, अनुसन्धानको स्तर र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने प्रयास जारी छ।

मलाई सबैभन्दा उत्साहजनक लाग्ने पक्ष भनेको नयाँ पुस्ताका चिकित्सकहरूको सक्रिय सहभागिता हो। जेएनएमएसँग जोडिएका युवा चिकित्सक तथा अनुसन्धानकर्ताहरू स्वेच्छाले काम गर्छन्। उनीहरूले यहाँ अनुसन्धान कसरी गर्ने, वैज्ञानिक लेखन कसरी गर्ने र ज्ञान उत्पादनको प्रक्रियामा कसरी योगदान दिने भन्ने सिक्ने अवसर प्राप्त गर्छन्। मेरो विश्वास छ, हामी केवल ज्ञान उपभोग गर्ने समुदाय भएर मात्र पुग्दैन, ज्ञान उत्पादन गर्ने समुदाय पनि बन्नुपर्छ।

आज जेएनएमए केवल अनुसन्धान लेख प्रकाशित गर्ने जर्नलमा सीमित छैन। यो अनुसन्धान, तालिम, शैक्षिक गतिविधि, वैज्ञानिक छलफल तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक विषयमा समेत सक्रिय साझा प्लेटफर्मका रूपमा विकसित भएको छ। आगामी दिनमा पनि नेपाली चिकित्सा क्षेत्रको अनुसन्धान क्षमता अभिवृद्धि गर्दै विश्वस्तरमा नेपालको ज्ञान र अनुभवलाई स्थापित गराउने दिशामा जेएनएमएले आफ्नो भूमिका अझ सशक्त बनाउने विश्वास लिएको छु।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस