• ३० श्रावण २०८३, शनिबार

नेपालमा मेडिकल टुरिजमको सम्भावनास् उपचारसँगै समृद्धिको मार्गचित्र

विश्व स्वास्थ्य सङ्गठन र विश्व आर्थिक मञ्चका हालैका प्रतिवेदनहरूले स्वास्थ्य पर्यटन (मेडिकल तथा डेन्टल टुरिजम) लाई विश्वकै तीव्र गतिमा विस्तार भइरहेको आर्थिक क्षेत्रका रूपमा परिभाषित गरेका छन्।

आफ्नै देशमा स्वास्थ्य उपचार महँगो हुनु, शल्यक्रियाका लागि महिनौँसम्म ‘वेटिङ लिस्ट’ मा बस्नुपर्नु तथा दन्त चिकित्सा जस्ता सेवाहरू स्वास्थ्य बीमाको दायराबाहिर रहनुका कारण पश्चिमी मुलुकका नागरिकहरू किफायती र गुणस्तरीय उपचारको खोजीमा विकासोन्मुख देशतर्फ आकर्षित भइरहेका छन्। ग्लोबल वेलनेस इन्स्टिच्युटको प्रक्षेपणअनुसार यो बजार वार्षिक १५ देखि २० प्रतिशतको दरले विस्तार भइरहेको छ।

नेपाल प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि मात्र होइन, दक्षिण एसियाकै एक सस्तो, भरपर्दो र उत्कृष्ट मेडिकल तथा डेन्टल हब बन्ने प्रचुर सम्भावना बोकेको देश हो। हामीसँग उपलब्ध दक्ष चिकित्सक, प्रचुर क्लिनिकल अनुभव र प्राकृतिक ‘हिलिङ’ वातावरणको त्रिवेणीलाई सही नीति तथा रणनीतिमार्फत परिचालन गर्न सके यसले राष्ट्रिय अर्थतन्त्रमा अभूतपूर्व योगदान पुर्‍याउन सक्छ।

किन नेपाल ? हाम्रा प्राज्ञिक र क्लिनिकल सबल पक्ष

नेपालमा चिकित्सा शिक्षाको आधार बलियो छ। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा स्वदेशमै उत्पादित चिकित्सकहरूको उत्तीर्ण दर करिब ७६।७ प्रतिशत रहनुले यहाँको प्राज्ञिक तथा सीपमूलक आधार विश्वसनीय रहेको पुष्टि गर्छ।

हाम्रो सबैभन्दा ठूलो पुँजी भनेको अस्पतालहरूमा उपलब्ध बिरामीको संख्या र चिकित्सकहरूले प्राप्त गर्ने व्यापक क्लिनिकल एक्सपोजर हो। चीन, युरोप वा अन्य विकसित मुलुकका धेरै मेडिकल कलेजहरूमा जस्तो यहाँका विद्यार्थी तथा चिकित्सकहरू ‘डमी’ वा ‘सिमुलेटर’ मा मात्र सीमित रहँदैनन्। उनीहरूले प्रत्यक्ष रूपमा हजारौँ जटिल बिरामीको उपचार तथा शल्यक्रियामा सहभागिता जनाइसकेका हुन्छन्। यही व्यावहारिक अनुभवका कारण नेपाली सर्जन तथा दन्त चिकित्सकहरूको क्लिनिकल कार्यदक्षता (ह्यान्ड स्किल्स) उल्लेखनीय रूपमा विकसित भएको छ।

‘डेन्टल टुरिजम’: नेपालको लुकेको हिरा

मेडिकल टुरिजमभित्र ‘डेन्टल टुरिजम’ यस्तो क्षेत्र हो, जहाँ बिरामीले अस्पतालमा हप्तौँ भर्ना भइरहनुपर्दैन। अमेरिका, बेलायत, अस्ट्रेलिया तथा खाडी मुलुकमा बसोबास गर्ने गैरआवासीय नेपाली ९एनआरएन० र विदेशी नागरिकहरूका लागि दन्त उपचार गराउनु आर्थिक रूपमा ठूलो बोझ बन्ने गरेको छ।

उदाहरणका लागि, अमेरिकामा एउटा मात्र दाँतको इम्प्लान्ट गर्दा लाग्ने खर्चले नेपाल आएर हवाई टिकट काट्न, स्तरीय होटलमा बस्न, आवश्यक दन्त उपचार गराउन तथा पोखरा–चितवन जस्ता पर्यटकीय गन्तव्यको भ्रमण गरेर फर्किनसमेत पुग्छ।

नेपालका आधुनिक डेन्टल क्लिनिकहरूले जर्मनीको जिरकोनिया क्राउन, इजरायल तथा कोरियाको टाइटेनियम इम्प्लान्ट र अत्याधुनिक डिजिटल स्माइल डिजाइनजस्ता प्रविधि तथा सामग्री प्रयोग गरिरहेका छन्। सामग्री उही, प्रविधि उही, तर श्रम तथा सञ्चालन लागत कम भएकाले नेपालमा यस्ता सेवाहरू ६० देखि ८० प्रतिशतसम्म सस्तो पर्छन्।

तथ्यको ऐनामा खर्चको तुलना

नेपालका स्थापित शिक्षण अस्पताल तथा डेन्टल क्लिनिकहरूको औसत उपचार खर्चलाई अमेरिका र बेलायतजस्ता विकसित मुलुकहरूको उपचार खर्चसँग तुलना गर्दा नेपालको प्रतिस्पर्धात्मक वित्तीय लाभ स्पष्ट देखिन्छ।

अमेरिका तथा बेलायतमा एक युनिट डेन्टल इम्प्लान्टका लागि ३ हजारदेखि ५ हजार अमेरिकी डलरसम्म खर्च लाग्ने भए पनि नेपालमा यही सेवा ४०० देखि ८०० डलरमै उपलब्ध छ। यसले बिरामीलाई करिब ८० प्रतिशतसम्म खर्च बचत गराउँछ।

त्यसैगरी, रुट केनल ट्रिटमेन्ट ९आरसीटी० को खर्च विकसित मुलुकहरूमा ७०० देखि १,५०० डलरसम्म पर्ने भए पनि नेपालमा ६० देखि १२० डलरमै उपचार सम्भव छ, जसबाट करिब ९० प्रतिशत खर्च बचत हुन्छ। दाँतको क्राउन वा क्याप राख्न अमेरिका वा बेलायतमा १,००० देखि १,५०० डलरसम्म खर्च लाग्ने भए पनि नेपालमा १५० देखि ३०० डलरमै सेवा प्राप्त गर्न सकिन्छ, जसले झण्डै ८० प्रतिशत बचत गराउँछ।

मेडिकल उपचारतर्फ पनि नेपाल अत्यन्त किफायती गन्तव्यका रूपमा स्थापित हुन सक्ने आधारहरू छन्। मुटुको बाइपास शल्यक्रिया ९सीएबीजी० का लागि अमेरिका वा बेलायतमा ७० हजारदेखि १ लाख डलरसम्म खर्च लाग्ने भए पनि नेपालमा यही उपचार ४ हजारदेखि ६ हजार डलरमै सम्भव छ। यसबाट बिरामीले करिब ९० प्रतिशतसम्म खर्च बचत गर्न सक्छन्।

त्यस्तै, मिर्गौला प्रत्यारोपणका लागि विकसित मुलुकहरूमा २ लाख ५० हजार डलरभन्दा बढी खर्च लाग्ने हुँदा नेपालमा भने ५ हजारदेखि ८ हजार डलरमै उपचार गर्न सकिन्छ। यसले बिरामीलाई ९५ प्रतिशतसम्म आर्थिक बचत गराउँछ।

यी तथ्याङ्कहरूले गुणस्तरीय स्वास्थ्य सेवा, दक्ष चिकित्सक तथा कम उपचार खर्चका कारण नेपाल अन्तर्राष्ट्रिय मेडिकल तथा डेन्टल पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने बलियो आधार रहेको देखाउँछन्। अन्तर्राष्ट्रिय बजारमा आँखाको शल्यक्रिया, विशेषगरी मोतिबिन्दुको उपचार, तथा दाँतको ‘स्माइल मेकओभर’ सेवाका लागि तिलगङ्गा लगायतका विशिष्ट संस्थाहरूले विश्वस्तरमै सस्तो र सफल उपचारको पहिचान बनाइसकेका छन्।

स्वास्थ्य पर्यटनबाट देशलाई हुने बहुआयामिक लाभ

१. विदेशी मुद्राको सञ्चिति

नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर विदेश अध्ययन गर्न जाने विद्यार्थी तथा उपचारका लागि विदेशिने बिरामीका कारण हरेक वर्ष अर्बौँ रुपैयाँ बराबरको पुँजी बाहिरिने गरेको छ। यदि नेपालले मेडिकल तथा डेन्टल टुरिजममार्फत वार्षिक १० हजार विदेशी बिरामी वा १,००० अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न सकेको खण्डमा ट्युसन शुल्क, उपचार खर्च, होटल तथा यातायात सेवाबाट मात्रै वार्षिक १० देखि १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।

२. स्वास्थ्य क्षेत्रमा ‘ब्रेन ड्रेन’ नियन्त्रण

विदेशी बिरामी तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनले अस्पताल र शिक्षण संस्थाहरूको आन्तरिक आम्दानी बढाउँछ। यसले विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकहरूलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधा, अनुसन्धान तथा करियर विकासको अवसर प्रदान गर्न मद्दत पुर्‍याउँछ। परिणामस्वरूप, दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्तिमा कमी आउन सक्छ।

३. नेपाली नागरिकका लागि आधुनिक र सुलभ उपचार

विदेशी बिरामी आकर्षित गर्न अस्पतालहरूले रोबोटिक सर्जरी, अत्याधुनिक थ्री–डी डेन्टल स्क्यानर, उन्नत आइसीयु तथा अन्य आधुनिक प्रविधिमा लगानी गर्नुपर्ने हुन्छ। स्वास्थ्य संस्थाहरूको प्रविधिगत स्तरोन्नतिबाट प्राप्त हुने प्रत्यक्ष लाभ नेपाली नागरिकले नै तुलनात्मक रूपमा सुलभ शुल्कमा प्राप्त गर्न सक्छन्।

निष्कर्ष र अबको बाटो

नेपालसँग दक्ष जनशक्ति, पर्याप्त क्लिनिकल अनुभव र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्षमता छ। आवश्यकता केवल दूरदर्शी नीति, प्रभावकारी समन्वय र स्पष्ट कार्ययोजनाको हो। चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पर्यटन मन्त्रालयले संयुक्त रूपमा राष्ट्रिय स्वास्थ्य पर्यटन नीति ल्याउन अब ढिलाइ गर्नु हुँदैन।

नेपाल बाहिर रहेका करिब ७० लाख नेपाली डायस्पोरालाई लक्षित गरी ‘डायस्पोरा मेडिकल टुरिजम’ को विकास गर्न सके यो स्वास्थ्य क्षेत्र र अर्थतन्त्रका लागि ठूलो अवसर बन्न सक्छ। विदेशको तुलनामा नेपालमा उपचार ७० देखि ८० प्रतिशतसम्म सस्तो हुनुका साथै लामो ‘वेटिङ टाइम’ को समस्या पनि न्यून छ। आफ्नै भाषा, संस्कृति र परिवारको सामिप्यमा उपचार पाउँदा बिरामीलाई थप सहजता र आत्मविश्वास मिल्छ।

सरकार र निजी क्षेत्रको सहकार्यमा अस्पतालहरूलाई अन्तर्राष्ट्रिय मान्यता (जेसीआई एक्रिडिटेसन), विदेशी स्वास्थ्य बीमाको स्वीकार्यता, सहज मेडिकल भिसा, फास्ट–ट्र्याक अध्यागमन सेवा र बिरामीमैत्री डिजिटल प्रणालीको विकास गर्न सकिए नेपालले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्वास्थ्य सेवा निर्यातमा नयाँ फड्को मार्न सक्छ। उपचारसँगै समृद्धिको यो मार्गचित्रले नेपाललाई दक्षिण एसियाको प्रमुख मेडिकल तथा डेन्टल हबका रूपमा स्थापित गर्ने आधार तयार गर्न सक्छ।

(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह(प्राध्यापक तथा पूर्व रेक्टर एवं निमित्त उपकुलपति हुन्)

 

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस