किन आवश्यक छ एकीकृत चिकित्सा शिक्षा ?
नेपालको चिकित्सा शिक्षा आज एउटा संवेदनशील मोडमा पुगेको छ। जहाँ विगतमा परम्परागत चिकित्सा प्रणालीहरू, विशेषतः आयुर्वेद र स्थानिय उपचार पद्धति प्रभावशाली थिए, पछिल्लो चार दशकमा आधुनिक चिकित्साले शिक्षाका सबै तहमा वर्चस्व स्थापित गरेको छ। विशेषतः जीवनशैलीजन्य रोग, मानसिक स्वास्थ्य समस्या, वातावरणीय संकट र स्वास्थ्य सेवामा पहुँचको असमानताका सन्दर्भमा हालको विश्व परिदृश्यमा केवल आधुनिक चिकित्सा पर्याप्त छैन भन्ने चेतनाले गति लिइरहेको छ, यस सन्दर्भमा, आयुर्वेद, आधुनिक चिकित्सा र पूर्वीय दर्शनबीचको समन्वयात्मक चिकित्सा शिक्षाले बहुआयामिक स्वास्थ्य प्रणाली निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
पूर्वीय दर्शनका वेद, उपनिषद् र योगदर्शनमा स्वास्थ्यलाई शरीर, मन र आत्माको समन्वयात्मक सन्तुलन मानिएको छ। यस दर्शनमा ‘स्वास्थ्य’ केवल रोग नहुनु मात्र नभई मानसिक, सामाजिक र आत्मिक सन्तुलन हो भन्ने स्पष्ट उल्लेख छ। आजको तनावयुक्त र उपभोगप्रधान जीवनशैलीमा पूर्वीय दर्शनले प्रदान गर्ने योग, ध्यान र आहार शुद्धि झनै सान्दर्भिक भएका छन्।
आयुर्वेदले सार्वजनिक स्वास्थ्यका सैद्धान्तिक र व्यावहारिक पक्षलाई राम्रोसंग समेटेको छ। आयुर्वेदका प्रमुख ग्रन्थहरूलाई चरक संहिता, सुश्रुत संहिता, र अष्टाङ्गहृदयले सार्वजनिक स्वास्थ्य अवधारणामा गहिरो योगदान दिएका छन्। डब्लुएचओ को २०२३ को ग्लोबल रिपोर्ट अन ट्रेडिशनल एण्ड कम्लिमेन्ट्री मेडिसिन ले आयुर्वेदले प्रिभेन्टिभ, प्रोमोटिभ र क्युरेटिभ तिन औटै विधामा प्रभावकारी ढंगले काम गर्न सक्ने कुरा स्वीकार गरिसकेको छ। दिनचर्या, ऋतुचर्या, योग र आहारशुद्धिका माध्यमबाट रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकिन्छ, योग ध्यान मार्फत मानसिक स्वास्थ्य र विभिन्न किसिमका वनस्पति र अन्य खनिज लगायतका वस्तुको प्रयोग गरेर रोगको उपचार गर्न सकिन्छ जुन कुरा आधुनिक चिकित्साका विद्यार्थीहरुले सिक्न जरुरी छ।
ग्रामीण भेगमा प्राथमिक स्वास्थ्य सेवा अझैपनि अपूरो छ। आयुर्वेदिक उपचार प्रणाली सस्तो, सुलभ र सन्दर्भअनुकूल हुनसक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। नेपालले औषधि आयातमा वार्षिक १५–२० अर्ब रुपैयाँ खर्च गर्छ। यदि स्थानिय जडीबुटी उत्पादन, प्रशोधन र औद्योगीकरणमा लगानी गरियो भने यो खर्च घटाउन सकिन्छ, साथै निर्यातबाट आय वृद्धि गर्न सकिन्छ। हालैका दशकहरूमा आयुर्वेदिक औषधिको प्रभावकारिता विषयमा चिन, भारत, श्रीलङ्का र अमेरिका लगायतका विभिन्न देशहरूमा क्लिनिकल ट्रायलसम्पन्न भइरहेका छन्। र मेटाबोलिक डिसअडर्समा उत्साहजनक नतिजाहरु प्राप्त भएका छन्। यस्ता बैज्ञानिक अध्यनहरु प्राय नसर्ने रोग व्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले गरिदै आएको छ र भविष्यमा आधुनिक चिकित्सामाथिको निर्भरता कम गर्नुको साथै एकिकृत चिकित्सा विधाको विकास गर्न पद्दत पुर्याउने छ।
भारत सरकारले २०१४ मा आयुश मन्त्रालय स्थापना गरेर आयुर्वेद, योग, युनानी, सिद्ध र होमियोप्याथीलाई समेटिएको संरचना विकास गरेको छ। अल इन्डिया इन्स्टिच्युट अफ मेडिसिन र अन्य संस्थाहरूले एकिकृत चिकित्साका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन्। श्रीलङ्काले नेश्नल पोलिसि अन ट्रेडिसिनल मेडिसिन (२०२१) अन्तर्गत आयुर्वेदिक उपचारलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समेटेको छ, विशेषतः प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा आयुर्वेदिक सेवा उपलब्ध गराइएको छ। विशेष गरी एसडिजिका विभिन्न लक्ष्यमध्ये जीवनशैली रोगको रोकथाम, मानसिक स्वास्थ्यमा सुधार गरी गुड हेल्थ एण्ड वेल विङ्ग (एसडिजि ३) पुरा गर्न आयुर्वेदको विशेष योगदान हुन सक्दछ। युनिभर्सल हेल्थ कभरेजको लागि पनि नेपालमा आयुर्वेदले अहम भुमिका बहन गर्न सक्छ।
अतः, आधुनिक चिकित्साका विभिन्न तहका पाठ्यक्रममा आयुर्वेद सम्बन्धि विषय अनिवार्य बनाउने र आयुर्वेदका पाठ्यक्रममा आधुनिक चिकित्सा पद्धति अझ सशक्त बनाउनपर्ने देखिन्छ। नेपाल जस्तो सांस्कृतिक विविधता भएको मुलुकमा चिकित्सा शिक्षालाई केवल आधुनिक चिकित्साको नजरले मात्र हेर्नु न्यायोचित होइन। आयुर्वेद र पूर्वीय दर्शनमा आधारित शिक्षाको समावेशले केवल जनस्वास्थ्य मात्र नभएर आर्थिक, सामाजिक र राष्ट्रिय पहिचानको प्रवर्धनमा समेत योगदान दिनेछ। अहिलेको राजनीतिक संक्रमणको समयमा नीति निर्माताहरूले समावेशी र समन्वयात्मक चिकित्सा शिक्षा प्रणाली निर्माण गर्न पहल गर्नुपर्छ। भारत, चिन र श्रीलङ्काको अभ्यासको अध्ययनमार्फत नेपालले आफ्नै सन्दर्भअनुकूल समग्र चिकित्सा शिक्षा नीति तयार पार्नसक्छ।







..jpeg)















प्रतिकृया दिनुहोस