• २२ असोज २०८३, बिहीबार

रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ।

रणनीति दस्तावेजअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएका थिए। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन्।

रणनीतिअनुसार कुकुरमा सामूहिक खोप अभियान सञ्चालन, कुकुरको संख्या व्यवस्थापन, रोग निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण र कुकुरको टोकाइ तथा चिथोराइको एकीकृत व्यवस्थापन गरिनेछ। मानिसमा रेबिजविरुद्धको खोप तथा इम्युनोग्लोबुलिनको पहुँच विस्तारलाई पनि प्राथमिकता दिइएको छ।

रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पुर्‍याउने, मानिसमा रेबिजविरुद्धको खोप सहज रूपमा उपलब्ध गराउने तथा रोग निगरानी र प्रयोगशाला प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, स्वास्थ्यकर्मीको क्षमता विकास, जोखिम सञ्चार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकतामा राखिएको छ। संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहमा विभिन्न संयन्त्रमार्फत रणनीति कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस