• २२ असोज २०८३, बिहीबार

कांग्रेस केन्द्रीय सदस्यका लागि चिकित्सक संघका तीन पूर्वअध्यक्ष मैदानमा

काठमाडौं । नेपाल चिकित्सक संघका तीन पूर्वअध्यक्ष नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, प्रा.डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन्।

डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन्। चिकित्सकको पेशागत हकहितसँगै कांग्रेसको स्वास्थ्यसम्बन्धी गतिविधिमा सक्रिय केसीलाई पार्टीले हालै गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारीसमेत दिएको छ।

पूर्वअध्यक्ष डा. श्रेष्ठले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्। उनी कांग्रेसको स्वास्थ्य विभागमा समेत आबद्ध भएर काम गरेका थिए। श्रेष्ठले आदिवासी जनजातितर्फबाट पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए। उक्त समूहको निर्वाचनमा उनी थोरै मतले पराजित भएका थिए।

प्रा.डा. अञ्जनीकुमार झा भने मधेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन्। उक्त समूहबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। क्यान्सर रोग विशेषज्ञ झा चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष हुन्।

झा यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि मधेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए। उनले ८०२ मत पाए पनि निर्वाचित हुन सकेका थिएनन्।

नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीनै जना चिकित्सक लामो समयदेखि स्वास्थ्य क्षेत्र र कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनीहरूको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्वको विषय पनि चासोमा परेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस