७४ जिल्लामा १० हजारभन्दा बढीमा स्क्रब टाइफस संक्रमण
काठमाडौं । नेपालका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० संक्रमितको विवरण प्राप्त भएको छ। संक्रमितमध्ये सात जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
संक्रमण बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार तथा जोखिम सञ्चारलाई तीव्र बनाएको छ। संक्रमणको अवस्था र प्रवृत्तिको निगरानी EWARS र SORMAS लगायतका प्रणालीमार्फत भइरहेको छ।
जोखिम बढी भएका क्षेत्रमा स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट तथा औषधि उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ।
रोगको समयमै पहिचान र उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा पनि मन्त्रालयले जोड दिएको छ। महाशाखाका अनुसार असार महिनामा मात्रै करिब एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान तथा केस व्यवस्थापनसम्बन्धी तालिम र अभिमुखीकरण दिइएको थियो।
मन्त्रालयले संक्रमण बढी देखिएका क्षेत्रमा नियमित निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तारसँगै स्थानीय तहसँगको समन्वय र जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिएको जनाएको छ।






..jpeg)














प्रतिकृया दिनुहोस