• २२ असोज २०८३, बिहीबार

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दीगो बनाउने विषयमा छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुख सहभागी थिए।

छलफलमा टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। सेवाका लागि आवश्यक जनशक्ति छुट्टै व्यवस्थापन गरी सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।

त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान हुने सेवाको अभिलेख व्यवस्थित गर्ने, बिरामीका विवरण सुरक्षित राख्ने र परामर्शसम्बन्धी जानकारी व्यवस्थित रूपमा राख्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सेवा विस्तारसँगै आउन सक्ने चुनौतीको पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा पनि जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरण विश्वसनीय बनाउने र टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकता दिइएको छ।

मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित सेवामात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै यसको गुणस्तर र विश्वसनीयता कायम गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।

 

प्रतिकृया दिनुहोस