आन्दोलनरत नर्सको माग तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।
स्वास्थ्य मन्त्रालयको कार्यभार समेत आफैंले सम्हालेकी प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सहरूको आन्दोलनको विषयमा बुझ्न र तिनको माग छिटो सम्बोधन हुने गरी कदम चाल्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको बताउँदै, ‘नर्सहरूको समस्या समाधान नगरे ठूलो संख्यामा जनशक्ति विदेश पलायन हुने जोखिम बढ्छ,’ भन्दै तुरुन्त पहल गर्न जोड दिइन्।
हाल कास्कीस्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिकको माग गर्दै एक सातादेखि आन्दोलनरत छन्। उनीहरूले गत २७ मंसिरको मन्त्रिस्तरीय निर्णयअनुसार नर्सको न्यूनतम पारिश्रमिक सरकारी सरह रु ३४ हजार ७३० हुनुपर्ने माग गर्दै आएका छन्।
तर, निजी मेडिकल कलेज सञ्चालकहरूले तत्काल उक्त माग कार्यान्वयन गर्न नसकिने बताउदै आएका छन्।
स्वास्थ्य मन्त्रालयले केही दिनअघि निजी स्वास्थ्य संस्थाहरूलाई सरकारी सरह तलब बढाउन पत्राचार गरेको थियो।







..jpeg)















प्रतिकृया दिनुहोस