राष्ट्रिय ट्रमा सेन्टर: नेपालको पहिलो ट्रमा अस्पताल शैक्षिक कार्यक्रम र भविष्यका योजना
राष्ट्रिय ट्रमा सेन्टरले नेपाल सरकारको पहिलो ट्रमा सेन्टरको रूपमा बिगत करिब एक दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ। प्रारम्भिक दिनमा व्यवस्थापकीय समस्या, स्रोत साधनको कमी तथा पूर्वाधार अभावका कारण सेवाहरु पूर्ण रुपमा सञ्चालन हुन नसके पनि २०७२ साल जेष्ठ १२ गतेको विनाशकारी भूकम्प पश्चात् यस सेन्टरले आफ्नो सम्पूर्ण सेवाहरु विस्तार गरेको हो।
उपलब्ध स्वास्थ्य सेवा
यस सेन्टरमा आकस्मिक अवस्था, चोटपटक र दुर्घटनामा परेका बिरामीलाई छिटो, सस्तो र गुणस्तरीय सेवा प्रदान गरिन्छ। यहाँ हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्, जसअन्तर्गत भाँचिएका हड्डी जोड्ने शल्यक्रिया, घुँडा तथा हिप जोर्नी प्रत्यारोपण, घुँडा र काँधको लिगामेन्ट निर्माण, नसामा चाप परेको ढाडको हड्डी अपरेसन, न्युरोसर्जरी, मेक्सिलोफेसियल सर्जरी र भास्कुलर सर्जरी जस्ता जटिल अपरेसन हुन्छन्। साथै बर्न तथा प्लास्टिक सर्जरी, पेन म्यानेजमेन्ट, क्रिटिकल केयर, मेडिसिन सेवा, मानसिक स्वास्थ्य, नाक–कान–घाँटी उपचार, रेडियोलोजी तथा प्याथोलोजी विभागको सेवा पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
सेवा विस्तार र बिरामी चाप
बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्न सेन्टरले एक्सटेन्डेड हस्पिटल सर्भिस (ईएचएस) अन्तर्गत दुई सिफ्टमा सेवा सञ्चालन गर्दै आएको छ। हाल दैनिक करिब ३५० देखि ४०० जना बिरामीले ओपीडी सेवा लिइरहेका छन् भने ५० देखि १०० जना आकस्मिक बिरामीको उपचार हुँदै आएको छ। यससँगै दैनिक ३० देखि ४० जनासम्मको मेजर तथा माइनर शल्यक्रिया भइरहेको छ। यहाँ सिटी–स्क्यान, एक्स–रे, डेक्सा–स्क्यान मेसिन उपलब्ध छन् भने एम.आर.आई मेसिन छिट्टै सञ्चालनमा आउने तयारी भइरहेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्र करिब १ लाख १४ हजार ८०० बिरामीले उपचार लिएका थिए भने ७ हजार ८ सय १७ अपरेसन सम्पन्न भएका थिए।
चुनौती र समाधान
यद्यपि बढ्दो बिरामी चाप, बेड अभाव र शल्यक्रिया कक्षको सीमितताले उपचारमा ढिलाइ हुने समस्या देखिएको छ। यसलाई समाधान गर्न शल्यक्रिया कक्ष थप्नुपर्ने, पोस्ट–अप बेड संख्या वृद्धि गर्ने तथा रिह्याब सेन्टर स्थापना गर्ने आवश्यकता रहेको छ। यस्ता प्रयासले बिरामीलाई छिटो उपचार दिलाउन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
पुनस्र्थापनाको आवश्यकता
स्पाइन इन्जुरी, हेड इन्जुरी तथा अन्य गम्भीर चोटपटकका कारण आंशिक वा पूर्ण पक्षाघात भएका बिरामीलाई अपरेसन पश्चात् पुनःस्थापना गर्न रिह्याब सेन्टर अत्यावश्यक हुन्छ। यस किसिमको केन्द्र स्थापना भइसकेपछि बिरामीलाई अपरेसनपछि छिट्टै स्थानान्तरण गर्न सकिनेछ, जसले अस्पतालको बेड टर्नओभर बढाउनेछ। साथै पक्षाघात भएका, हिँडडुल गर्न नसक्ने वा दिशा–पिसाब नियन्त्रण गर्न नसक्ने बिरामीलाई आवश्यक तालिम र पुनस्र्थापना सेवा उपलब्ध गराउन सकिनेछ। हाल सरकारी स्तरमा यस्तो सुविधा अभाव भएकाले धेरै बिरामी निजी संस्थामा निर्भर हुन बाध्य छन्। यसलाई मध्यनजर गर्दै ट्रमा सेन्टरले आफ्नै रिह्याब सेन्टर सुरु गर्ने प्रक्रिया अघि बढाइसकेको छ।
शैक्षिक कार्यक्रम र भविष्यका योजना
ट्रमा सेन्टरलाई अझ व्यवस्थित र सक्षम बनाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। यसमा ट्रमा सर्जन तालिम तथा अध्ययन, ट्रमा नर्सिङ, ट्रमा क्रिटिकल केयर, ट्रमा आईसीयू व्यवस्थापन, अनुसन्धान तथा प्रकाशन कार्यक्रमलाई प्राथमिकता दिइने योजना छ। यसबाट दक्ष जनशक्ति उत्पादन हुनेछ र उपचार प्रविधि अझ प्रभावकारी र आधुनिक बन्नेछ।
राष्ट्रिय ट्रमा सेन्टरले विगत एक दशकमा नेपालमा आकस्मिक स्वास्थ्य सेवाको स्तरलाई उल्लेखनीय उचाइमा पु¥याएको छ। अझै पूर्वाधार, जनशक्ति र आधुनिक प्रविधि थप्दै लैजाने हो भने यो केन्द्र केवल नेपालको मात्र नभई सम्पूर्ण दक्षिण एसियाकै उत्कृष्ट ट्रमा अस्पतालको रूपमा स्थापित हुने सम्भावना रहेको छ।







..jpeg)















प्रतिकृया दिनुहोस