• ३० श्रावण २०८३, शनिबार

मेडिकल पत्र डटकमको पाचौँ वर्ष पूरा

मेडिकलपत्र डटकम आफ्नो स्थापनाको पाचौँ वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई जनताको नैसर्गिक मौलिक हकभित्र राखे पनि उपचारमा पहुँच तथा सहज मेडिकल शिक्षाबारे प्रश्न उठिरहेकै छन्।

आजभन्दा पाँच वर्षअघि स्वास्थ्य तथा मेडिकल शिक्षामा पृथक खाले बहस र पैरवी गर्ने उद्देश्यले अनलाइन पोर्टल www.medicalpatra.com को औपचारिक सुरुआत गरिएको थियो। गत वर्ष मेडिकलपत्रको चौथो वार्षिकोत्सवमा ‘गुणस्तरीय स्वास्थ्य सेवा’ मुख्य थिममा केन्द्रित भएर वार्षिक पत्रिका प्रकाशन गरेका थियौं।

नेपालमा स्वास्थ्य शिक्षाको इतिहास हेर्दा सन् १९३३ मा नेपाल राजकीय आयुर्वेद विद्यालय स्थापनासँगै स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति उत्पादन सुरु भएको थियो। त्यसको एक वर्षपछि सन् १९३४ मा सिभिल मेडिकल स्कुल खोलियो, जसले वीर अस्पतालमा ड्रेसर र कम्पाउन्डरजस्ता स्वास्थ्यसेवीको उत्पादन सुरु गरेको देखिन्छ। यसैगरी सन् १९५६ मा नर्सिङ र हेल्थ असिस्टेन्ट स्कुल, सन् १९६२ मा अहेव स्कुल र सन् १९६३ मा अनमी स्कूलहरू खुले। यी सबै शैक्षिक संस्था त्यस समय स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित थिए।

सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय मातहत रहने गरी स्वास्थ्यअन्तर्गतका नर्सिङ हेल्थ असिस्टेन्ट, अनमी र अहेव कार्यक्रम सञ्चालन गर्ने सबै स्कूललाई गाभेर चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना गरियो। यसले १९७८ सम्म आधारभूत र मध्यमस्तरका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कार्य ग¥यो । यिनमा अनमी र अहेव, सामान्य चिकित्सा, फार्मेसी, रेडियाग्राफी, हेल्थल्याब, नर्सिङ र आयुर्वेद विषयमा प्रमाणपत्र तहका कार्यक्रम सञ्चालित थिए। सन् १९७६ मा सुरु गरिएको बि.एन. (व्याचलर इन नर्सिङ) यस संस्थानमा सुरु गरिएको पहिलो स्नातक स्तरको कार्यक्रम थियो। सन् १९७८ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले पहिलो पटक नेपालमै स्नातक (एमबीबीएस) कार्यक्रम सुरु गर्यो।

हाल काठमाडौं विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालाय, पूर्वाञ्चल विश्वविद्यालयलगायत तथा विभिन्न प्रतिष्ठानले आंगिक, सम्बन्धन तथा स्वायत्त संस्थाका रुपमा चिकित्सा विज्ञानका विभिन्न विषय अध्ययन अध्यापन गराइरहेका छन्।

त्यसैगरी सन् १९९३ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, २००२ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, २००८ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, २०६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, २०७२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा २०७४ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा  २०७६ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र २०७७ मा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत स्थापना भई सञ्चालनमा आएका छन्। निजी क्षेत्रमा भने सन् १९९२ देखि काठमाडौं विश्वविद्यालयको स्थापनापछि सन् १९९४ मा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले सम्बन्धन प्राप्त गरी पहिलो मेडिकल कलेजको रूपमा स्थापना भएको देखिन्छ।

यसैबीच एकातिर विद्यार्थीको माग र निजी स्वास्थ्य संस्था विकाससँगै मेडिकल शिक्षाको शुल्क र गुणस्तरीय चिकित्सा शिक्षाबारे  प्रश्न उठ्न थालेपछि विभिन्न समय प्राडा. गोविन्द केसीलगायत नागरिक समाज एवं सरोकारवालाबाट चिकित्सा शिक्षामा देखिएका समस्या सम्बोधन गर्न समय–समय बनेका आयोग तथा कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा क्षेत्रलाई नेपालको राष्ट्रिय आवश्यकताअनुरुप विकास गर्न, चिकित्सा शिक्षालाई नियमन गरी एकीकृत, चुस्त तथा गुणस्तरीय बनाउन ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बन्यो। चिकित्सा शिक्षा आयोग स्थापनापछि पाँच वटा परिषद्का केही अधिकार आयोगमा हस्तान्तरण भएका छन् भने विश्वविद्यालयका पनि प्रवेश परीक्षालगायतका केही अधिकार आयोगमा सर्यो।

आयोग स्थापनाले एकीकृत प्रवेश परीक्षा, शुल्क निर्धारण, स्नातकको छात्रवृत्ति कोटा बढेको र स्नातकोत्तरको सरकारीमा निःशुल्क तथा निजीमा शुल्क निर्धारण भएको विषय सकारात्मक लिन सकिन्छ। आयोग स्थापनापछि आठ वर्षमा समयानुकूल सिट तथा शुल्क समायोजन नहुनुलाई निजी क्षेत्रले गुनासोसमेत गरिरहेको छ। त्यसैले यस वर्ष हामीले नेपालको मेडिकल शिक्षाका विविध आयामबारे विस्तृत छलफल गर्ने जमर्को गरेका छौँ। मेडिकल शिक्षालाई सर्वसुलभ, पहुँचयुक्त र गुणस्तरीय बनाउन सरकार, नियमनकारी निकाय, निजी क्षेत्रसहित सम्पूर्ण सरोकारवाला निकायले भोगिरहेका समस्या, चुनौती र भावी मार्गचित्रका विविध पक्ष समेटेर यो अंक प्रकाशित गरेका छौं। 

एकै अंकमा मेडिकल शिक्षाका सबै विषय समेट्न सम्भव हुँदैन। यससँग सम्बन्धित विषय हामी अनलाइन पोर्टलमार्फत नियमित रूपमा तथा मेडिकलपत्रको अर्को छापा संस्करणमार्फत पाठक एवं सरोकारवालासमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

मेडिकलपत्रले स्वास्थ्य सेवा र मेडिकल शिक्षाबारेमा उठाइरहेको बहस र पैरवीलाई साथ र सहयोग पु¥याउनुहुने सम्पूर्ण सरोकारवाला पक्ष, आदरणीय पाठक एवं विज्ञापन दातालगायत सबैमा धन्यवाद प्रकट गर्दछौं।

प्रकाशक\सम्पादक

बुद्धि कटेल

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस