• १५ कार्तिक २०८३, आइतबार

‘एलडीसी स्तरोन्नतिको थप समय: स्वदेशी औषधि उद्योगका लागि अवसर’

नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को श्रेणीबाट स्तरोन्नति हुने तयारीका लागि सन् २०२९ नोभेम्बर २४ सम्म थप समय उपलब्ध गराउने गरी संयुक्त राष्ट्रसंघको महासभाबाट प्रस्ताव ८१/एल.८ सर्वसम्मत रूपमा पारित भएकोमा नेपाल औषधि उत्पादक संघका तर्फबाट नेपाल सरकार तथा यस प्रक्रियामा योगदान पुर्‍याउने सबै निकायप्रति हार्दिक आभार व्यक्त गर्दछु।

विशेषगरी अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहल, कूटनीतिक प्रयास तथा रचनात्मक सहभागिताको हामी उच्च प्रशंसा गर्दछौँ। यसका साथै औषधि व्यवस्था विभाग (डीडीए), नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा संयुक्त राष्ट्रसंघीय महासभाको भूमिकालाई पनि हामीले महत्त्वका साथ लिएका छौँ।

नेपालको सहज, दिगो र व्यवस्थित स्तरोन्नतिका लागि थप तयारी अवधि प्राप्त हुनु सरकारको कूटनीतिक प्रयास र सरोकारवाला निकायबीचको समन्वयको महत्त्वपूर्ण उपलब्धि हो। औषधि क्षेत्रको नियामक तथा संस्थागत क्षमता अभिवृद्धिमा औषधि व्यवस्था विभागले खेलेको भूमिका र नेपाली उद्योगको विकास, संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको निरन्तर प्रयास पनि प्रशंसनीय छ।

यो थप समय नेपालका लागि केवल स्तरोन्नति प्रक्रिया पछाडि सार्ने अवसर मात्र होइन, देशभित्र विद्यमान संरचनात्मक चुनौती समाधान गर्ने र उत्पादनमूलक उद्योगलाई थप सक्षम बनाउने महत्त्वपूर्ण अवसर पनि हो। विशेषगरी स्वदेशी उद्योगको क्षमता विस्तार, उत्पादन लागत न्यूनीकरण, गुणस्तर सुधार, प्रविधि हस्तान्तरण, निर्यात प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माणमा यो अवधिको सदुपयोग गर्नुपर्छ।

औषधि उद्योगको सन्दर्भमा यो अवसर अझ महत्त्वपूर्ण छ। औषधिमा आत्मनिर्भरता केवल औद्योगिक विकासको विषय होइन, यो राष्ट्रिय स्वास्थ्य सुरक्षा र संकटका बेला आवश्यक औषधिको नियमित आपूर्तिसँग पनि जोडिएको विषय हो। अत्यावश्यक औषधिको उत्पादनमा स्वदेशी उद्योगको क्षमता विस्तार गर्न सके आयातमा निर्भरता घटाउन, आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन र देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिन्छ।

तर, त्यसका लागि स्वदेशी औषधि उद्योगले कच्चा पदार्थ, प्रविधि, अनुसन्धान तथा विकास, वित्तीय पहुँच, उत्पादन लागत र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डजस्ता चुनौती सामना गर्नुपर्नेछ। स्तरोन्नतिपछि प्राप्त हुने सुविधामा आउन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सरकारले अहिले नै आवश्यक नीतिगत, संस्थागत र वित्तीय तयारी गर्नुपर्छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति, लगानीमैत्री वातावरण, प्रभावकारी नियमन र निर्यात प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ।

नेपाल औषधि उत्पादक संघ सरकार, सम्बन्धित मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न प्रतिबद्ध छ। थप प्राप्त तयारी अवधिलाई औद्योगिक विकास, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वास्थ्य सुरक्षाको बलियो आधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न हामी सबैको साझा प्रयास आवश्यक छ।

नेपालको स्तरोन्नति प्रक्रिया सहज र दिगो बनाउन योगदान पुर्‍याउने सरकार, सम्बन्धित मन्त्रालय, नियामक निकाय, निजी क्षेत्र तथा सबै सरोकारवालाप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। प्रतिस्पर्धी, आत्मनिर्भर र औद्योगिक रूपमा सबल नेपाल निर्माण गर्ने हाम्रो प्रतिबद्धता पनि दोहोर्‍याउन चाहन्छौँ।

प्रतिकृया दिनुहोस