• १४ कार्तिक २०८३, शनिबार

दाङमा रगत अभाव, बिरामीलाई समस्या

काठमाडौं । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा दाङमा रगतको अभाव देखिएको छ। जिल्लाका तुलसीपुर, घोराही र लमहीस्थित रक्तसञ्चार केन्द्रमा सहज रूपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार चाडपर्वका समयमा हरेक वर्ष रगतको अभाव हुने गरेको छ। यस वर्ष पनि रक्तसञ्चार केन्द्रहरूमा रगत मौज्दात नरहेको र रक्तदाता जुटाउनसमेत कठिन भएको उनले बताए। विभिन्न सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गर्दा पनि पर्याप्त रगत सङ्कलन हुन नसकेको उनको भनाइ छ।

रगतको माग बढी हुने समयमा अभाव हुँदा बिरामीको उपचारमा समस्या हुनुका साथै ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सङ्घसंस्था, सामाजिक अभियन्ता तथा नियमित रक्तदातालाई रक्तदानमा सक्रिय हुन उनले आग्रह गरेका छन्।

दाङमा विशेषगरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया र थालासेमियाका बिरामीका कारण रगतको माग उच्च रहने गरेको छ। यी रोगका बिरामीलाई नियमित रूपमा रगत चढाउनुपर्ने भएकाले जिल्लामा वार्षिक पाँच हजारदेखि छ हजार युनिटसम्म रगतको माग तथा खपत हुने गरेको छ।

जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीस्थित रक्तसञ्चार केन्द्रमा सबैभन्दा बढी वार्षिक तीन हजार ७०० युनिटभन्दा बढी रगत खपत हुने गरेको छ। त्यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा वार्षिक दुई हजार १०० युनिटभन्दा बढी र लमही क्षेत्रमा करिब एक हजार युनिट रगत खपत हुने गरेको छ।

 

प्रतिकृया दिनुहोस