• १४ कार्तिक २०८३, शनिबार

भक्तपुरमा विश्व पक्षाघात दिवसमा प्रभातफेरी र निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर। विश्व पक्षाघात दिवस २०२६ को अवसरमा भक्तपुरमा प्रभातफेरी, सांस्कृतिक प्रस्तुतिमार्फत जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरिएको छ।

उपेन्द्र देवकोटा फाउण्डेशनको आयोजना तथा नेपाल स्ट्रोक अर्गनाइजेशन, भक्तपुर नगरपालिका र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल, बाँसबारीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

‘एभ्री मिनेट काउन्ट्स’ अर्थात् हरेक मिनेट महत्त्वपूर्ण छ भन्ने नारासहित आयोजित कार्यक्रममा पक्षाघातका लक्षण समयमै पहिचान गर्न र तत्काल उपचारमा जानुपर्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमअन्तर्गत भक्तपुर दरबार क्षेत्रस्थित शिलु महादेवबाट प्रभातफेरी निकालिएको थियो। त्यसैगरी, दत्तात्रय मन्दिरको पूर्वी चोक (मार्चा दबु) मा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमार्फत समुदायस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने र पक्षाघातसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन भक्तपुर नगरपालिका, स्थानीय निकाय, ख्वप अस्पताल, ख्वप कलेज, नेपाल प्रहरी संगीत विद्यालय, जिल्ला प्रहरी कार्यालय भक्तपुर, विभिन्न सामाजिक संघसंस्था तथा स्वास्थ्यकर्मीले सहयोग र सहभागिता जनाएका थिए।

पक्षाघात हुँदा समयमै लक्षण पहिचान गरी उपचार सुरु गर्न सके ज्यान जोगाउन र दीर्घकालीन अपांगताको जोखिम कम गर्न सकिने भएकाले यससम्बन्धी जनचेतना समुदायस्तरसम्म पुर्‍याउनु आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ।

प्रतिकृया दिनुहोस