मन र मष्तिस्कको संगम: विपश्यना ध्यान
विपश्यनाको अर्थ ‘वास्तविकतालाई जस्तो छ, त्यस्तै रूपमा देख्नु वा हेर्नु’ हो, भारत वर्षको सबैभन्दा प्राचीन ध्यान प्रविधिहरू मध्ये यो एक हो। यसको सुरुवात शिद्दार्थ गौतम बुद्धबाट आजभन्दा २,५०० वर्ष पहिले भएको मानिन्छ। यो कुनै सम्प्रदायमा सीमित नभएको, सबैका लागि उपयोगी साधना हो। बुद्धले यसलाई कुनै विशेष धर्म वा विश्वास प्रणालीको प्रचार गर्नुको सट्टा मानसिक विकारहरू हटाउने ‘जीवन जिउने कला’का रूपमा अंगालेका थिए। बुद्धपछि यो प्रविधि उत्तरी भारतभर फैलिनुका साथै इजिप्ट र सिरियासम्म पनि पुगेको पाइन्छ। यो प्रविधि म्यान्मार (बर्मा) मा राम्रोसँग संरक्षित रहेको र त्यहाँबाट हालको अवस्थामा पुनर्जीवित भएको पुष्टी भएको छ। सन् १९५० को दशकदेखि यसले अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुँदै र सन् १९७० को दशकमा आधुनिक पश्चिमी माइन्डफुलनेस मेडीटेसन (सचेतनता साधना) आन्दोलनको रुपमा विकसित भैरहेको छ।
विपश्यनाको मूल मान्यता अनुसार वास्तविकताको यथार्थ स्वरूपबारेको अज्ञानता नै मानव दुःखको मूल कारण हो। प्रत्यक्ष आत्म-अवलोकन मार्फत यही अज्ञानता हटाउँदै जाँदा मुक्ति प्राप्त गर्न सकिन्छ। यसको अभ्यास मन र शरीरबीच रहेको गहिरो अन्तरसम्बन्धको अवधारणामा आधारित छ। यसमा विशेष गरेर स्वास-प्रश्वासको सुक्ष्म अवलोकन र ध्यान गर्दा शरीरमा निरन्तर उत्पन्न भइरहने संवेदनाहरूलाई अनुशासित र सजगतापूर्वक अवलोकन गरिन्छ, किनकि स्वास-प्रश्वासको सुक्ष्म अवलोकन र संवेदनाहरूले मानसिक अवस्थालाई निरन्तर प्रभावित पारिरहेका हुन्छ।
विपश्यना साधनाको मुख्य उद्देश्य मनलाई शान्त, सचेत र सन्तुलित बनाउँदै लोभ, द्वेष, डर तथा तनाव जस्ता मानसिक अशान्तिका कारणहरूलाई बुझेर क्रमशः घटाउनु हो। यो ध्यान विधिबाट ‘जुन बस्तु वा व्यक्ति जस्तो रुपमा छ त्यस्तै रुपमा देख्न सक्ने अभ्यासको विकास हुन्छ’ र कुनै पनि व्यक्ति वा बस्तुलाई आफ्नो अनुकूलको व्यख्या नगरी र आफ्ना दृष्टिकोणमा समभावको दृष्टिकोणले बुझ्न सक्ने क्षमताको विकास हुँदै जान्छ। नियमित अभ्यासले वर्तमान क्षणप्रतिको जागरूकता बढाउन, प्रतिक्रियात्मक बानी कम गर्न र जीवनका सुख-दुःखलाई धैर्य तथा विवेकका साथ स्वीकार गर्न सहयोग पुर्याउँछ।
स्वास्थ्य तथा मनोवैज्ञानिक लाभ
विपश्यनाप्रति वैज्ञानिक चासो र सर्वसाधारणको आकर्षण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। यस विषयमा गरिएका विभिन्न अध्ययनहरुले मनोवैज्ञानिक, शारीरिक तथा व्यवहारिक पक्षहरूमा विपश्यनाबाट हुने फाइदहरुबारे केही तथ्यहरु बाहिर आइसकेका छन्। ती अध्ययनहरुले मानसिक तनाव, चिन्ता तथा माइग्रेनको समास्यामा कमी आउनुका साथै माइन्डफुलनेस, स्मरण क्षमता, शरीरभित्रका संवेदनाप्रतिको चेतना, मुटुको धड्कनको परिवर्तन तथा हिप्पोक्याम्पसको संरचनामा समेत सुधार हुने तथ्य पुष्टि भएको पाइन्छ। बिगत तिन वर्षदेखि मैले यस ध्यान विधिलाई नियमित अवलम्वन गरिरहेको छु र यसबाट म स्वयंले पनि सकारात्मक अनुभव प्राप्त गरेकोछु। सङक्षेपमा विपश्यनाको साधनाबाट निम्नलिखित लाभहरु प्राप्त गर्न मद्दत पुग्छ।
दैनिक नियमित विपश्यना साधना गर्ने व्यक्तिहरुका अनुभव र विभिन्न अध्ययनहरुबाट यसका साधकहरुमा मानसिक तनाव र चिन्तामा कमी आएको देखिन्छ।
यसले दैनिक जीवनमा तुरुन्तै प्रतिक्रिया दिने प्रवृत्तिलाई कम गर्न मद्दत पुग्छ किनकी यसबाट माइन्डफुलनेस तथा वर्तमान क्षणप्रतिको सजगतामा वृद्धि हुन्छ।
कुनैपनि समस्या वा अवस्थामा धैर्यता र तठस्थताको भावनाको विकास हुने र फलस्वरूप साधकको नकारात्मक सोच तथा आलोचनात्मक दृष्टिकोणमा कमी ल्याउछ।
अध्ययनहरूले मादक पदार्थ वा लागु पदार्थ सेवनको लतबाट मुक्त हुने प्रक्रियामा सहयोग पुर्याइ समस्याको सामना गर्ने, निर्णय क्षमतामा सुधार ल्याउनुका साथै पुनःलत लाग्ने दरमा कमी ल्याएको पाइन्छ।
कुनैपनि घटनाको सकारात्मक पक्षबाट मूल्यांकनगर्ने प्रवृतिको विकास हुने भएकोले अनावश्यक तनावको अवस्थामा कमी हुने र ध्यानलाई केन्द्रित गर्ने क्षमता बढ्दै जान्छ र यसबाट व्यक्तिको शैक्षिक, भावनात्मक र सामाजिक कार्यक्षमतामा सुधारका साथै एकाग्रतामा वृद्धि हुन्छ।
विपश्यनाको नियमित साधनाले विगतमा भएका घटना-परिघटनाको चिन्ताका साथै भविष्यमा के होला कसो होला भन्ने भयबाट छुटकारा दिलाई साधकलाई वर्तमान अवस्थामा मात्र केन्द्रित हुन् मद्दत पुग्छ।
विपश्यना साधनको मूलभूत प्रक्रिया
विपश्यनाको अभ्यास सामान्यतया पूर्ण अन्तर्दृष्टि-अवलोकनतर्फ जानुअघि एकाग्रता विकास गर्ने अभ्यासबाट यसको सुरुवात हुन्छ। विपश्यनाको शिविर संचालनको समयमा तपसिलमा उल्लेखित ४ वटा मूलभूत चरणहरुको पालना गर्नुपर्छ।
पहिलो चरण
शील (५ वटा नैतिक आचरण): ध्यानको विषय- हत्या नगर्ने, चोरी नगर्ने, यौन दुराचार वा व्यविचारीबाट टाढा रहने, झूट नबोल्ने र मादक पदार्थ सेवन नगर्ने आचरणको प्रतिवद्दता गर्ने हो भने ध्यानको उदेश्य मनका लागि स्थिर र शान्त आधार तयार गर्ने हो।
दोस्रो चरण
आनापान (श्वासप्रश्वासको सजगता): ध्यानको विषय-नाकका प्वाल तथा माथिल्लो ओठको क्षेत्रमा प्राकृतिक श्वासप्रश्वासलाई अवलोकन गर्ने, सामान्यतया पहिलो १ देखि ३ दिनसम्म गर्नु पर्दछ भने ध्यानको उदेश्ये ध्यानलाई तीक्ष्ण बनाउनुका साथै र ध्यानको एकाग्रता विकास गर्ने रहेको छ।
तेस्रो चरण
विपश्यना (शरीर स्क्यान): ध्यानको विषय-टाउकोको माथिल्लो भागदेखि तलतर्फ सम्पूर्ण शरीरमा उत्पन्न हुने संवेदनाहरूलाई क्रमबद्ध रूपमा अवलोकन गर्ने भने यो चरणको उदेश्ये संवेदनाप्रति प्रतिक्रिया नगरी अवलोकन गरेर समभाव विकास गर्नु रहेको छ।
चौथो चरण
मेत्ता (मैत्रीभाव): ध्यानको विषय-सकारात्मक ऊर्जा र सद्भावना अरूसँग बाँड्ने; सामान्यतया अन्तिम दिन गरिन्छ भने यो चरणको उदेश्ये बाहिरतर्फ निर्देशित करुणा र मैत्रीभावका साथ अभ्यासको समापन गर्नु गरेको छ।
शरीर स्क्यान गर्ने चरणमा साधकले शरीरको प्रत्येक भागमा उपस्थित जस्तो प्रकारको संवेदनालाई पनि ध्यानपूर्वक अनुभव गर्नुपर्छ। कुनै संवेदना महसुस नभएमा पनि ध्यान कायम राख्दै केही समय प्रतीक्षा गरेर अर्को भागतर्फ अघि बढ्नुपर्छ। गहन साधकले अन्ततः शरीरको बाहिरी सतहमा मात्र नभई शरीरको भित्री भागका संवेदनाहरूलाई समेत सूक्ष्म रूपमा अवलोकन गर्न सक्ने हुन्छन।
सम्पूर्ण अभ्यासको उद्देश्य संवेदनाहरूलाई “जस्तो छन्, त्यस्तै रूपमा” अवलोकन वा साछीभावले हेर्नुहो। साधकहरूको विश्वासअनुसार यस्तो अभ्यासले क्रमशः मनमा गहिरो रूपमा बसेका मानसिक संस्कारहरूलाई क्रमशः कमजोर गराउदै जान्छ र अन्ततः त्यसबाट मुक्त हुन मद्दत पुग्छ।
शिविर र घरमा विपश्यनाको अभ्यास
विपश्यना ध्यान केन्द्रहरुमा पहिला १० दिनको आवाशीय शिविर प्राप्त गरे पश्चात सामान्य मानसिक तथा शारीरिक हितका लागि विपश्यनाको सरल रूपले दैनिक घरमै अभ्यास गर्न सकिन्छ। यद्यपि यसलाई औपचारिक शिविरबाट प्राप्त प्रशिक्षणको पूरकका र प्रतिस्थापनका रूपमा नभई विपश्यनालाई नियमितताकालागि अङ्गीकार गर्नेरुपमा लिनु पर्दछ।
घरमा अभ्यास गर्ने आधारभूत तरिकामा दैनिक १ घन्टाको समय छुट्याउदा राम्रो प्रभाव पाउन सकिन्छ। सम्भव भएसम्म बिहानको समयमा शान्त स्थानमा आरामदायी आसनमा ढाड सीधा राखेर बस्नुपर्छ, आँखा बन्द गर्ने र श्वासप्रश्वासको प्राकृतिक लयमा ध्यान केन्द्रित गर्नु पर्छ। ध्यानका क्रममा आउने विचार र शारीरिक संवेदनाहरूलाई कुनै मूल्याङ्कन वा प्रतिक्रिया नगरी केवल अवलोकन वा साछीभावले मात्र हेर्नुपर्छ किनकि हरेक बिचार वा समबेदना केहि क्षणका लागि आउने कुरा हो र यो सधैको लागि होइन भन्ने विश्वासमा सुनिश्चित हुनुपर्छ। शुरुआती साधकहरूले १०-२० मिनेटका छोटो अभ्यासबाट सुरु गरी बिस्तारै अवधि बढाउनु राम्रो हुन्छ। ध्यानका क्रममा मोबाइल फोन बन्द गर्ने, कुनै आवाजले ध्यानमा असजिलो नगरोस र घरका अन्य सदस्यहरूलाई ध्यान गर्ने समय र सान्त वातावरणका लागि जानकारी गराउनाले विभिन्न अवरोधलाई कम गर्न मद्दत पुग्छ।







..jpeg)














प्रतिकृया दिनुहोस