क्यान्सर औषधिको एपीआई ‘साइटोटक्सिक्स’ उत्पादनमा जाइडिन बायोटेकलाई जीएमपी प्रमाणपत्र
काठमाडौं। क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन थालेको जाइडिन बायोटेक लिमिटेडले सक्रिय औषधीय कच्चा पदार्थ (एपीआई) अन्तर्गत ‘साइटोटक्सिक्स’ उत्पादनका लागि गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–१६, शरणपुरस्थित कम्पनीले नेपाली जडीबुटी लौठसल्लोबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गरी भारतमा समेत निर्यात गर्दै आएको छ। जाइडिन क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो।
औषधि व्यवस्था विभागले गत अगस्ट २५ र २६ मा गरेको निरीक्षणका आधारमा कम्पनीलाई उक्त प्रमाणपत्र जारी गरेको हो। प्रमाणपत्रको म्याद सन् २०२८ अक्टोबर ८ सम्म रहेको छ।
प्रमाणपत्रमा सक्रिय औषधीय कच्चा पदार्थअन्तर्गत ‘साइटोटक्सिक्स’ वर्ग समावेश गरिएको छ। यसको कार्यक्षेत्रमा उत्पादन, शुद्धीकरण, प्याकिङ, लेबलिङ, गुणस्तर परीक्षण तथा गुणस्तर सुनिश्चिततासम्बन्धी गतिविधि रहेका छन्।
औषधिमा रोगविरुद्ध काम गर्ने मुख्य सक्रिय तत्त्वलाई सक्रिय औषधीय कच्चा पदार्थ (एपीआई) भनिन्छ। कम्पनीले विशेषगरी क्यान्सर उपचारमा प्रयोग हुने औषधिका यस्ता कच्चा पदार्थ उत्पादनमा ध्यान केन्द्रित गर्दै आएको छ।
जाइडिनका संस्थापक अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले जीएमपी प्रमाणपत्र प्राप्तिलाई नेपालको औषधि उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताए।
‘स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने क्षमता विस्तारले आयातमाथिको निर्भरता घटाउन र औषधिको आपूर्ति प्रणाली बलियो बनाउन योगदान पुग्नेछ,’ उनले भने।
उनका अनुसार कम्पनीले अहिले क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु गरिसकेको छ भने अब त्यसबाट तयार हुने औषधि (फर्मुलेसन) उत्पादनमा समेत प्रवेश गर्ने तयारी गरिरहेको छ।
‘त्यसका लागि छुट्टै पूर्वाधार निर्माण आवश्यक छ। हामीले त्यसमा काम गरिरहेका छौँ। निकट भविष्यमै फर्मुलेसन उत्पादनमा पनि प्रवेश गर्दैछौँ,’ क्षेत्रीले भने।






..jpeg)














प्रतिकृया दिनुहोस