एउटा मात्रै मिर्गौला सम्बन्धी केही भ्रम र जानकारी: डा. अनिल बराल
मिर्गौला सम्बन्धी विषयमा हाम्रो समाजमा धेरै भ्रम र अनावश्यक डर फैलिएको छ, विशेषगरी “एउटा मात्रै मिर्गौला” भन्ने कुरा सुन्नासाथ मानिसहरू आत्तिने गर्छन्। वास्तवमा शरीरमा एउटा मात्र मिर्गौला भएर पनि सामान्य, स्वस्थ र दीर्घ जीवन बाँच्न सकिन्छ भन्ने तथ्य धेरैलाई थाहा छैन। जन्मजात रूपमा, अपरेसनका कारण वा मिर्गौला दानपछि पनि मानिसहरू एउटै मिर्गौलामा निर्भर भएर स्वस्थ जीवन बिताइरहेका छन्। वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले यस लेखमार्फत एउटा मात्र मिर्गौला हुने अवस्था, त्यससँग जोडिएका भ्रम, वास्तविक जोखिम र आवश्यक सावधानीबारे सरल र वैज्ञानिक ढंगले जानकारी प्रस्तुत गरेका छन्।
शरीरमा एउटा मात्र मिर्गौला हुन सम्भव छ ?
एकदमै सम्भव छ। करिब १ प्रतिशत मानिसहरूमा जन्मजात रूपमा एउटा मात्र मिर्गौला हुन्छ। कसैको एउटा मिर्गौला सानो हुन सक्छ, कसैको सामान्य स्थानभन्दा फरक ठाउँमा हुन सक्छ। त्यसैगरी, कसैको मिर्गौला अपरेसनमार्फत निकालिएको हुन सक्छ—जस्तै क्यान्सरका कारण, बिग्रिएको मिर्गौला हटाउँदा, वा मिर्गौला दान गर्दा। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा पनि वास्तवमा काम गर्ने मिर्गौला एउटै हुन्छ।
एउटा मात्रै मिर्गौला हुँदैमा आत्तिनु पर्छ त ?
पर्दैन। मिर्गौलाको सङ्ख्याभन्दा पनि त्यसले कति राम्रोसँग काम गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सामान्य जीवनयापनका लागि राम्रोसँग काम गर्ने एउटा मिर्गौला पर्याप्त हुन्छ। मिर्गौला फेल हुनु भनेको दुवै मिर्गौला काम गर्न नसक्ने अवस्था हो। एउटा मात्रै मिर्गौला बिग्रिँदैमा त्यसलाई मिर्गौला फेल भनिँदैन।
एउटा मात्र मिर्गौला भएका व्यक्तिले केही विशेष सावधानी अपनाउनुपर्छ ?
एउटा मात्र मिर्गौला भएका व्यक्तिले धेरै विशेष सावधानी अपनाउनुपर्छ भन्ने होइन, तर केही आधारभूत कुरामा ध्यान दिनु आवश्यक हुन्छ। नियमित रूपमा रक्तचाप जाँच गरी नियन्त्रणमा राख्नुपर्छ, किनकि उच्च रक्तचापले मिर्गौलामा थप दबाब पार्न सक्छ। दुखाइ कम गर्न प्रयोग गरिने ‘ननस्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स’ (एनएसएआईडीएस) समूहका पेनकिलर औषधिहरू सकेसम्म प्रयोग नगर्नु उपयुक्त हुन्छ। त्यसैगरी, वर्षमा एकपटक रगतको परीक्षण गरेर मिर्गौलाको कार्यक्षमता जाँच गर्नुका साथै पिसाबको सामान्य (रुटिन) परीक्षण गराइरहनु राम्रो हुन्छ।एउटा मिर्गौला पत्थरी वा जन्मजात रोगका कारण बिग्रिएको छ भने त्यसले अर्को मिर्गौलालाई असर गर्छ ?
गर्दैन। एउटा मिर्गौलाको समस्या सिधै अर्को मिर्गौलामा सर्छ भन्ने हुँदैन।
कसैकसैको मिर्गौला जोडिएको पनि हुन्छ रे ?
हो, यसलाई ‘हर्स शु किड्नी’ भनिन्छ। यसले मिर्गौला फेल हुने जोखिम बढाउँदैन, तर पत्थरी र संक्रमणको सम्भावना भने केही बढ्न सक्छ।
बाँकी कुरा विस्तारै…
व्यक्तिगत स्वास्थ्य समस्याका लागि आफ्ना चिकित्सकलाई नै भेट्नुहोला। मिर्गौला तथा जनस्वास्थ्य सम्बन्धी थप जानकारी जान्न मन भए कमेन्टमा लेख्नुहोस्। यस्ता पोस्टमार्फत विस्तारै भ्रम चिर्दै जाने प्रयास गर्नेछु। समाजलाई धेरै भ्रममा राखिएको छ—अब चिरफार सुरु गरौँ, भ्रमको। हेरौँ, कति टाढासम्म जान सकिन्छ।







..jpeg)















प्रतिकृया दिनुहोस