• ३० श्रावण २०८३, शनिबार

शिवरात्री र गाँजा प्रयोग: ‘क्यानाबिस युज डिसअर्डर’को जोखिम कत्तिको गम्भीर?

नेपालमा महाशिवरात्रीका अवसरमा केही व्यक्तिहरूले गाँजालाई ‘शिवको प्रसाद’का रूपमा सेवन गर्ने परम्परा देखिन्छ। तर स्वास्थ्य र कानुनी दृष्टिले यसको जोखिमबारे सरकार र स्वास्थ्य निकायहरूले स्पष्ट चेतावनी दिएका छन्। विशेषतः उत्सवको दिनमा सुरु भएको प्रयोग दीर्घकालमा लत (क्यानेविज युज डिसअर्डर)मा रूपान्तरण हुन सक्ने तथा मानसिक–शारीरिक स्वास्थ्यमा असर पार्ने अनुसन्धानहरुले दिखाएका छन्।

नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजालाई निषेधित लागूऔषधको रूपमा परिभाषित गरेको छ। उक्त ऐनअनुसार यसको खेती, उत्पादन, खरिद–बिक्री, वितरण र सेवन गैरकानुनी हो, र उल्लंघनमा दण्ड–जरिवानाको व्यवस्था छ। यस ऐनको कार्यान्वयन गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा/नियामक निकायमार्फत गरिन्छ। राज्यले गाँजालाई सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिएको जोखिमको रूपमा हेरेको छ।

मानसिक स्वास्थ्य र लत

विश्व स्वास्थ्य संगठनद्वारा २०१६ मा प्रकाशित प्रतिवेदन ‘द हेल्थ एण्ड सोसियल इफेक्ट अफ ननमेडिकल क्यानेविज युज’ मा गैर–चिकित्सकीय गाँजा प्रयोगका जोखिमहरुबारे तथ्यपरक रुपमा जोखिमबारे  उल्लेख गरेको छ। प्रतिवेदनले गाँजाको प्रयोगकर्तामध्ये करिब १० प्रतिशतमा निर्भरता विकास हुन सक्छ भन्दै किशोरावस्थामा सुरु गर्नेमा जोखिम उच्च हुने भनेको छ। रोपोर्ट अनुसार गाँजाको सेवनले स्मरणशक्ति र सिकाइ क्षमतामा ह्रास आउने जनाएको छ। गाँजाको उच्च मात्रा र नियमित प्रयोगले साइकोसिस जस्ता अवस्थाको जोखिम वृद्धि गर्ने अध्ययन हरुला देखाएका छन्।

त्यस्तै, ‘सवट्यान्स अबियुज एण्ड मेन्टल हेल्थ सर्भिसेज एडमिनिस्ट्रेसन’का तथ्यपत्रहरू अनुसार नियमित प्रयोगले ‘क्यानेबिज युज डिस्अर्डर’ को जोखिम बढाउँछ, र किशोर–युवामा दीर्घकालीन शैक्षिक/व्यवहारगत असर देखिन सक्ने उल्लेख गरेको छ।

मुटु र सासप्रश्वासमा असर

अध्ययनहरूले गाँजा धूम्रपानसँग हृदयघात र स्ट्रोक जस्ता कार्डियोभास्कुलर जोखिम बढ्ने देखाएको छ। कुनैपनी धूम्रपान स्वरूप सेवनले सासप्रश्वास प्रणालीमा पनि असर पार्न सक्छ भएकाले विश्व स्वास्थ्य लगायतले गाँजाको गैर चिकित्सकिय प्रयोग नगर्न सुझाव दिएका छन्।

आयुर्वेदिक सन्दर्भमा सीमित र चिकित्सकीय प्रयोग

आयुर्वेदिका चरक संहिता जस्ता ग्रन्थहरूमा ‘विजया’ गाँजाको औषधीय प्रयोग मात्रा, प्रयोगको समय र चिकित्सकीय निगरानीमा मात्र प्रयोग गर्न मिल्ने सीमित सन्दर्भमा उल्लेख गरेको। तर मनोरञ्जन अधिक सेवन आयुर्वेदिक सिद्धान्तअनुसार पनि हितकर मानिँदैन।

महाशिवरात्री सन्दर्भ: ‘एकदिनको प्रयोग’ बाट लतसम्म?

उत्सवका दिनमा “केही मात्र” भनेर सुरु भएको प्रयोग, विशेषतः किशोर–युवामा, सामाजिक दबाब र जिज्ञासाका कारण दोहोरिन सक्छ। डबलुएचओ लगायतको तथ्यअनुसार प्रारम्भिक उमेरमा सुरु भएको प्रयोगले निर्भरता र मानसिक स्वास्थ्य जोखिम बढाउन सक्छ। त्यसैले उत्सवको सन्दर्भलाई स्वास्थ्य जोखिमबाट अलग्गै हेर्नु जरुरी देखिन्छ। त्यसैले परिवार तथा समुदायस्तरमा सचेतना र वैकल्पिक, स्वस्थ उत्सव अभ्यास प्रवर्द्धन आवश्यक देखिन्छ।

महाशिवरात्रीमा गाँजालाई ‘प्रसाद’ मानेर सेवन गर्ने परम्परा केही ठाउँमा देखिए पनि, नेपालको कानुनले यसलाई निषेध गरेको छ र अन्तर्राष्ट्रिय वैज्ञानिक प्रमाणहरूले लत, मानसिक स्वास्थ्य समस्या, तथा शारीरिक जोखिम को सम्भावना देखाएका छन्। सार्वजनिक स्वास्थ्यको दृष्टिले सचेतना, रोकथाम र प्रमाण–आधारित जानकारी प्रसार गर्नु आजको आवश्यकता हो।

प्रतिकृया दिनुहोस