• ३० श्रावण २०८३, शनिबार

मधुमेहले मानसिक स्वास्थ्यमा पनि असर गर्छः डा दीना श्रेष्ठ

आजको विश्वमा मधुमेह (डायबिटिज) सबैभन्दा गम्भीर र चुनौतीपूर्ण नसर्ने रोग मध्ये एकका रूपमा स्थापित भइसकेको छ। नेपालजस्तो विकासशील देशमा बदलिँदो जीवनशैली, असन्तुलित खानपान, शारीरिक निष्क्रियता, बढ्दो मोटापा र मानसिक तनावका कारण मधुमेहको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनले बाल्यकालदेखि वृद्धावस्थासम्म जुनसुकै उमेरका मानिस पनि मधुमेहको जोखिममा हुन सक्छन् भन्दै ‘जीवनका हरेक चरणमा मधुमेह’ बारे ध्यान दिन आग्रह गरेको छ।

त्यसैगरी, इन्टरनेशनल डायबिटिज फेडेरेसनले ‘डायबिटिज एण्ड वेल–बिइङ’ अर्थात मधुमेह र समग्र शारीरिक–मानसिक स्वास्थ्यलाई एउटै फ्रेममा राखेर हेर्नुपर्ने अवधारणालाई अघि सारेको छ। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीना श्रेष्ठका अनुसार मधुमेह केवल रगतको चिनी बढ्ने समस्या मात्र होइन, यसले व्यक्तिको सोच, व्यवहार, काम गर्ने क्षमता, पारिवारिक जीवन, सामाजिक सम्बन्ध र समग्र जीवन–गुणस्तरमा गहिरो असर पार्दछ।

लक्षण नदेखिएरै असर गर्ने भएकाले मधुमेहलाई ‘साइलेन्ट डिजिज’ भनिएको हो। धेरैजसो अवस्थामा बिरामीले लक्षण कुर्दा रोग निकै अगाडि बढिसकेको हुन्छ र आँखा, किड्नी, मुटु, नसा तथा कलेजोमा क्षति पुगिसकेको हुन्छ। त्यसैले मधुमेहको सन्दर्भमा लक्षण कुर्नुभन्दा समयमै जाँच, नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, मानसिक सन्तुलन तथा परिवार–समाजको सहयोगमार्फत रोग नियन्त्रण गर्नु अत्यन्त आवश्यक मानिन्छ।

मधुमेह भनेको के हो ?

मधुमेह भनेको शरीरमा इन्सुलिनको कमी वा इन्सुलिनले प्रभावकारी रूपमा काम गर्न नसक्दा रगतमा ग्लुकोज (चिनी)को मात्रा असामान्य रूपमा बढ्ने दीर्घकालीन रोग हो। यो रोग एकपटक लागेपछि जीवनभर नियन्त्रणमा राख्नुपर्ने हुन्छ।

मधुमेहलाई किन ‘साइलेन्ट डिजिज’ भनिन्छ ?

मधुमेहको प्रारम्भिक अवस्थामा कुनै स्पष्ट लक्षण देखिँदैन। बिरामी सामान्य देखिए पनि शरीरभित्र अंगहरूमा क्षति भइरहेको हुन्छ। जब लक्षण देखिन थाल्छ, त्यतिबेला रोग धेरै बिग्रिसकेको हुन्छ, त्यसैले यसलाई ‘साइलन्ट डिजिज’ भनिन्छ।

मधुमेहका प्रमुख लक्षणहरू के–के हुन् ?

मुख सुक्ने, अत्यधिक प्यास लाग्ने, धेरै पानी पिउनुपर्ने, बारम्बार पिसाब लाग्ने (विशेषगरी राति), अत्यधिक भोक लाग्ने तर तौल घट्दै जानु, थकान, चक्कर लाग्नु, घाउ ढिलो निको हुनु, आँखामा धमिलो देखिनु आदि मधुमेहका प्रमुख लक्षण हुन्।

मधुमेहले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

मधुमेह दीर्घकालीन रोग भएकाले बिरामीमा तनाव, चिन्ता, डर, निराशा, डिप्रेसन र आत्मविश्वासको कमी देखिन सक्छ। निरन्तर नियन्त्रण, खानपानको प्रतिबन्ध र भविष्यप्रतिको डरले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ।

मोटापा मधुमेहको प्रमुख कारण किन मानिन्छ ?

मोटोपनले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ। विशेषगरी पेट वरिपरि बोसो जम्ने (भिसरल ओबेसिटी) ले मधुमेहको जोखिम धेरै बढाउँछ। दक्षिण एसियाली मानिसहरूमा यही प्रकारको मोटापा बढी देखिन्छ।

मधुमेहले शरीरका कुन–कुन अंगमा असर गर्छ ?

मधुमेहले आँखा (रेटिनोप्याथी), किड्नी (नेफ्रोप्याथी), मुटु, मस्तिष्क (स्ट्रोक), नसा, कलेजो तथा खुट्टामा गम्भीर समस्या निम्त्याउन सक्छ। साथै क्यान्सरको जोखिमसमेत बढ्न सक्छ।

मधुमेह नियन्त्रणमा औषधिको भूमिका कति महत्वपूर्ण छ ?

औषधि मधुमेह नियन्त्रणका लागि आवश्यक भए पनि औषधिमा मात्र भर पर्नु पर्याप्त हुँदैन। औषधिसँगै जीवनशैली परिवर्तन अनिवार्य हुन्छ, नत्र दीर्घकालीन जटिलता बढ्दै जान्छ।

मधुमेह भएका व्यक्तिले खानपानमा के–के ध्यान दिनुपर्छ ?

गुलियो, चिल्लो, मैदा, प्याकेट र प्रोसेस गरिएको खाना कम गर्नुपर्छ। ताजा सागसब्जी, दाल, घरको साधारण खाना, फलफूल सीमित मात्रामा र पर्याप्त पानी पिउनुपर्छ।

नियमित स्वास्थ्य परीक्षण किन आवश्यक छ ?

मधुमेहले सुरुवातमा लक्षण नदेखाए पनि अंगहरू बिगारिरहेको हुन सक्छ। त्यसैले HbA1c, ब्लड प्रेसर, कोलेस्ट्रोल, किड्नी, आँखाको जाँच नियमित रूपमा गर्नुपर्छ।

परिवार र समाजले मधुमेह बिरामीलाई कसरी सहयोग गर्न सक्छन् ?

परिवार र समाजले बिरामीलाई मानसिक समर्थन दिनु, स्वस्थ खाना उपलब्ध गराउनु, अस्वस्थ खानाबाट जोगाउनु र सकारात्मक व्यवहार देखाउनु अत्यन्त आवश्यक हुन्छ। सामूहिक सहयोगबिना मधुमेह नियन्त्रण कठिन हुन्छ।

मधुमेह आजको समयको गम्भीर स्वास्थ्य चुनौती हो। यसको लक्षण कुर्नुभन्दा समयमै जाँच, स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र परिवार–समाजको सहकार्यमार्फत मधुमेहलाई नियन्त्रण गरी दीर्घ, स्वस्थ र गुणस्तरीय जीवन जिउन सकिन्छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस