अण्डा स्वास्थ्यका लागि कति फाइदाजनक ? दिनमा कति खाने?
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’
धेरै अण्डाले हानी गर्छ?
चिकित्सकहरूका अनुसार दैनिक आवश्यकताभन्दा २–३ गुणा बढी प्रोटिन सेवन गर्दा मिर्गौलामा असर पर्न सक्छ। त्यसैले अण्डामात्र होइन, अन्य प्रोटिन स्रोतसँग सन्तुलन मिलाउन जरुरी हुन्छ।
अण्डा र कोलेस्टेरोल
अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने विषयमा पहिले धेरै बहस भएको थियो। तर बेलायतको नेशनल हेल्थ सर्भिस अनुसार अण्डामा रहेको कोलेस्टेरोलले रगतको कोलेस्टेरोलमा ठूलो असर गर्दैन स्याचुरेटेड फ्याट मुख्य समस्या हो, अण्डा होइन। एउटा अण्डामा करिब ४.६ ग्राम बोसो हुन्छ, जसमा एक चौथाइ मात्र स्याचुरेटेड हुन्छ। तर अण्डासँग मख्खन, क्रिम वा धेरै तेल प्रयोग गर्दा जोखिम बढ्न सक्छ।
डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ।
यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ।
ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?
अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ। त्यसमा अण्डा हाल्नुपर्छ। यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन। कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ।
अण्डाको एलर्जी
विशेषगरी ५ वर्ष मुनिका बालबालिकामा अण्डाको एलर्जी देखिन सक्छ। मुख वरिपरि रातोपन वा सुन्निनु, पेट दुख्नु, बान्ता हुनु। एलर्जी प्रायः ज्यानघातक हुँदैन, तर लक्षण देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ।







..jpeg)















प्रतिकृया दिनुहोस