• ३० श्रावण २०८३, शनिबार

नवजात, बाल तथा पेडियाट्रिक युरो सर्जरी

सन् १९९५ (वि.सं. २०५२) मा भारतको आर.जी.कार मेडिकल कलेजबाट मेरो पेशागत यात्रा सुरु भएको हो। त्यहाँबाट सुरु भएको हाउस अफिसरको अनुभवले मलाई पेडियाट्रिक सर्जरीतर्फ आकर्षित ग¥यो। त्यसपछि त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पताल हुँदै मैले बाल शल्यचिकित्सामा थप अभ्यास गर्ने अवसर पाएँ। अन्ततः २०६१ सालमा ढाकास्थित बंगबन्धु सिखमुजीव मेडिकल युनिभर्सिटीबाट पेडियाट्रिक सर्जरीमा एमएस स्नातकोत्तर पूरा गरेँ। अहिले म ईशान बाल तथा महिला अस्पताल (नेपालको पहिलो निजी बाल अस्पताल)मा वरिष्ठ पेडियाट्रिक सर्जन÷पेडियाट्रिक युरोलोजिस्टको रूपमा काम गर्दैछु, जहाँ हजारौं नवजात शिशु र बालबालिकाको जीवन र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने जिम्मेवारी बोकेको छु।

नवजात शिशुमा देखिने समस्या

जन्मेको केही दिनमै धेरै शिशुहरू जीवनघातक अवस्थामा अस्पताल आउँछन्। पेट फुल्ने, हरियो बान्ता आउने, दिशाको प्वाल बन्द भएर नहुने वा अन्य जन्मजात विकृतिहरू तुरुन्त शल्यक्रिया नगरे घातक बन्न सक्छन्। मैले आफ्नै अनुभवमा धेरै नवजात शिशुलाई यस्तो अवस्थामा देखेको छु र शल्यक्रियामार्फत उनीहरूको जीवन बचाएको छु। मैले शल्यक्रिया गरेको बच्चाहरू अहिले डाक्टर, इन्जिनियर भईसकेका छन्। नवजात शल्यक्रिया मात्र जीवनरक्षक होइन, भविष्यमा उनीहरूले सामान्य जीवन बाँच्न सक्ने आधार पनि हो।

बाल युरोलोजीका चुनौती

पेडियाट्रिक युरोलोजी मेरो विशेष अभ्यास क्षेत्र हो। बच्चाहरूमा पिसाब गर्न गाह्रो हुने, पिसाबमा संक्रमण देखिने, मृगौलामा पानी जम्ने वा लिंगसम्बन्धी विकृति जस्ता समस्या सामान्य देखिन्छन्। यी समस्याहरू प्रायः अभिभावकले सामान्य ठान्ने तर पछि जटिल बन्ने गर्छन्। मैले थुप्रै केसमा समयमै उपचार गरेर बच्चाको जीवनशैली पूर्ण रूपमा सुधारिएको देखेको छु। यसैले म हरेक अभिभावकलाई सल्लाह दिन्छु – बच्चामा देखिएको सानो समस्या पनि हल्का नठान्नुस्, ढिलो नगरी विशेषज्ञकहाँ जानुस्।

बाल क्यान्सर शल्यक्रिया

बालबालिकामा ट्युमर र क्यान्सरसम्बन्धी समस्या पनि निकै चुनौतीपूर्ण हुन्छ। पेटमा डल्ला देखिनु वा असामान्य वृद्धि हुनु धेरै गम्भीर संकेत हो। मैले धेरै बालबालिकामा प्रारम्भिक अवस्थामा मृगौला, पेटको क्यान्सर पत्ता लगाएर शल्यक्रिया मार्फत उपचार गरेको छु।

बाल अग्नीजलन शल्यक्रिया

बाल अग्नीजलन बच्चामा आगो, तातो पानी, दुध तथा बिजुलीबाट पोल्ने घटनालाई ७० प्रतिशत सम्म रोकथाम गर्न सकिन्छ। त्यस्तै, आगोे, तातो पानी, दुध तथा बिजुलीले पोलेर गम्भीर अवस्थामा आएका बच्चाहरूको उपचारमा पनि धेरै अनुभव प्राप्त भएको छ। यी सबै अवस्थाले मलाई हरेक दिन सम्झाउँछ – शल्यक्रिया भनेको रोग मात्र हटाउने प्रक्रिया होइन, एक बालकको भविष्य सुरक्षित गर्ने जिम्मेवारी हो।

उपचार गर्ने दृष्टिकोण

बच्चा र वयस्कको शरीरबीच ठूलो अन्तर हुन्छ। बाल शल्यक्रिया गर्दा शरीरको संवेदनशीलता, मानसिक प्रभाव र भविष्यको वृद्धि–विकासलाई ध्यानमा राख्नुपर्छ। मैले सधैं बच्चाको दीर्घकालीन स्वास्थ्यलाई प्राथमिकता दिएको छु। मेरो अनुभवमा, शल्यक्रियापछि बच्चा सामान्य जीवन बाँच्न सक्छ भने त्यो मात्र हाम्रो पेशागत सफलता होइन, जीवनकै ठूलो उपलब्धि हो।

नेपालमा वर्तमान अवस्था

नेपालमा करिब ४० प्रतिशत जनसंख्या नवजात शिशु र बालबालिकामा आधारित छ। यस्तो अवस्थामा पेडियाट्रिक सर्जनको माग उच्च भए पनि पूर्वाधार र प्रविधि अझै पर्याप्त छैनन्। अनुसन्धानको कमी र दक्ष जनशक्तिको अभावले पनि चुनौती थपेको छ। तर, म विश्वास गर्छु कि दीर्घकालीन सोच, नीतिगत सहयोग र अभिभावकको सचेतना बढ्दै गए नेपालमै अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सेवा स्थापित गर्न सकिन्छ।

भविष्यको लक्ष्य

मेरो लक्ष्य ईशान बाल तथा महिला अस्पताललाई नेपालकै उत्कृष्ट बाल शल्य अस्पतालका रूपमा विकास गर्नु हो। साथै, मेडिकल टुरिजमलाई पनि प्रोत्साहन दिने हाम्रो योजना छ। अभिभावकले समयमै बच्चाको समस्या पहिचान गरी विशेषज्ञकहाँ लैजान सक्ने हो भने, धेरै बच्चाहरूलाई जटिल अवस्थाबाट बचाउन सकिन्छ भन्ने मेरो अनुभवले सिकाएको छ।

(प्राडा रामनन्दन प्रसाद चौधरीसँगको कुराकानिमा आधारित)

 

 

प्रतिकृया दिनुहोस