• ३० श्रावण २०८३, शनिबार

न्युरोसाइन्स र एक्युपङ्चरको संगम

न्युरोसाइन्स भनेको हाम्रो मस्तिष्क, नसाहरू र तिनको कार्यबारे अध्ययन गर्ने आधुनिक विज्ञान हो।
यो विज्ञानले शरीरमा कसरी सिग्नल चल्छ, दुखाइ किन महसुस हुन्छ, तनावले कसरी शरीर र दिमागलाई असर गर्छ भन्ने कुरा बुझाउँछ। अर्कोतर्फ, एक्युपङ्चर हजारौँ वर्ष पुरानो पूर्वीय उपचार पद्धति हो, जसमा शरीरका निश्चित बिन्दुमा सानो, पातलो स्टेराइल सुई लगाइन्छ। आजको संसारमा यी दुई फरक–देखिने तर एकअर्कासँग जोडिएका विधिहरू एकै स्थानमा भेटिन थालेका छन्। यही भेटलाई “न्युरोसाइन्स र एक्युपङ्चरको संगम” भनिन्छ।
एक्युपङ्चर गर्दा सुईले शरीरका नसाहरू, मांसपेशी, फ्यासिया र छालाभित्र रहेका संवेदी रिसेप्टरलाई सक्रिय बनाउँछ। यो सक्रियताले शरीरभित्रबाट प्राकृतिक पेनकिलर हर्मोनहरू, जस्तै—एन्डोर्फिन, सेरोटोनिन, डोपामिन—निस्कन मद्दत गर्छ। यसैले एक्युपङ्चरपछि धेरै व्यक्तिहरूलाई हल्का, रिल्याक्स र दुखाइ कम भएको अनुभव हुन्छ। न्युरोसाइन्सले पुष्टि गरेको छ कि यी हर्मोनहरू दिमागमा दुखाइ नियन्त्रण गर्ने केन्द्र (पेन मोडुलेसन सेन्टर) मा सीधा प्रभाव पार्छन्।
आधुनिक एमआरआई, एफएमआरआई, पेट–स्क्यान जस्ता उच्च–प्रविधिका परीक्षणहरूले देखाएका छन् कि एक्युपङ्चर गर्दा मस्तिष्कका केही महत्वपूर्ण भागहरू सक्रिय हुन्छन्—जस्तै लिम्बिक सिस्टम (भावनात्मक नियन्त्रण), हाइपोथालमस (हर्मोन नियमन), र स्पाइन कर्ड पाथवे (दुखाइ सिग्नल रोक्ने मार्ग)। यसले एक्युपङ्चर केवल “परम्परागत ज्ञान” मात्र नभई वैज्ञानिक रूपमा शरीर–दिमागको कार्यसँग सीधै जोडिएको उपचार विधि हो भन्ने प्रमाणित गर्छ।
न्युरोसाइन्सका अनुसन्धानहरूले एक्युपङ्चरले शरीरको रक्तसञ्चार सुधार्ने, सूजन कम गर्ने, नसाको अवरोध हटाउन मद्दत गर्ने, मांसपेशी रिल्याक्स गर्ने र तनाव हर्मोन कार्टिसोल कम गर्ने देखाएका छन्। यही कारण एक्युपङ्चरलाई ढाडको दुखाइ, माइग्रेन, घुँडाको दुखाइ, साइटिका, एन्जाइटी, इन्सोमेनिया, हर्मोनको गडबडी, पाचन प्रणालीको समस्या जस्ता धेरै अवस्थाहरूमा प्रभावकारी मानिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) र अमेरिकन कलेज अफ फिजिसियन्स (एसीपी) ले एक्युपङ्चरलाई सुरक्षित, प्रभावकारी र प्रमाणमा आधारित उपचार भनेर औपचारिक रूपमा मान्यता दिएका छन्।
आज विश्वका ठूला अस्पताल, विश्वविद्यालय र रिसर्च सेन्टरहरूले एक्युपङ्चरलाई आधुनिक औषधि उपचारसँग मिलाएर ‘इन्टिग्रेटेड’ का रूपमा अपनाइरहेका छन्। नेपालमा पनि अन्नपूर्ण न्युरो अस्पताल, केएमसी मेडिकल कलेज, अल्का अस्पताल, क्यान्सर अस्पताल, ओम अस्पताल, सुभिल सर्भिस अस्पताल जस्ता प्रमुख एलोप्याथिक अस्पतालहरूले न्युरोसाइन्स र एक्युपङ्चरको संयोजनमा आधारित ‘इन्टिग्रेटेड थेरापी’ लाई तीव्र रूपमा अंगालिरहेका छन्। यी अस्पतालहरूले वैज्ञानिक प्रमाणमा टेकेर माइग्रेन, स्पाइनल समस्या, स्ट्रोक, नशाको दुखाइ, इन्सोमेनिया र तनावसम्बन्धी रोगहरूमा एक्युपङ्चर अत्यन्त प्रभावकारी भएको देखाइरहेका छन्। आधुनिक चिकित्सा र परम्परागत विधिको यो समन्वयले उपचारको नयाँ, सुरक्षित र समग्र युग खोलेको छ। आजको युगमा चिकित्सा केवल एकल चिकित्सामा सीमित छैन।
न्युरोसाइन्स र एक्युपङ्चरको संगमले प्रमाणित गरेको छ कि शरीर र दिमाग एकअर्कासँग गहिरो रूपमा जडिएका छन्। परम्परागत उपचार र आधुनिक विज्ञानको यही सहयात्राले एक्युपङ्चरलाई सुरक्षित, साइड–इफेक्ट कम र दीर्घकालीन समाधान दिने उपचारका रूपमा विश्वभर स्थापित गरिरहेको छ।
प्राचीन ज्ञानमा आधारित एक्युपङ्चर आज आधुनिक विज्ञानद्वारा मान्यता प्राप्त उपचार पद्धति बनेको छ। केवल पीडा घटाउने मात्र होइन, शरीरमा सन्तुलन कायम गर्ने, जीवनस्तर सुधार गर्ने र समग्र स्वास्थ्यलाई उन्नत बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ। यो उपलब्धि प्राचीन ज्ञान र आधुनिक विज्ञानबीचको सशक्त सेतु हो।
एक्युपङ्चर, मोक्सीबक्सन र एक्युप्रेसर एशोसिएसन अफ नेपालले पेशागत मापदण्ड, अनुसन्धान र सुरक्षित उपचारमा जनचेतना बढाउँदै आएको छ। हामी एक्युपङ्चरलाई मुख्यधार स्वास्थ्य सेवामा एकीकृत गर्न प्रतिबद्ध छौँ।
विश्व एक्युपङ्चर दिवसको शुभकामना।

 

प्रतिकृया दिनुहोस