• ३० श्रावण २०८३, शनिबार

चाडपर्वमा मधुमेहका बिरामीले ध्यान दिनुपर्ने कुरा

हामी दशैँ–तिहारजस्ता चाडपर्वको बेला छौँ। यस समयमा खानेकुराको विविधता हुने भएकाले विशेषगरी मधुमेहका बिरामी तथा उच्च जोखिममा रहेकाहरूले खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ। चाडपर्वको बेला बढी कार्बोहाइड्रेटयुक्त खाना, चिल्लो चाप्लो पदार्थ, गुलियो मिठाई तथा मदिरा सेवनले रक्तसुगरमा नकारात्मक असर पार्ने भएकाले सकेसम्म नियन्त्रण गर्नुपर्छ।

खानपानमा ध्यान दिनुपर्ने कुरा

मधुमेह भएका बिरामीले आफ्नो दैनिकीमा अपनाएको खानपान र जीवनशैलीलाई चाडपर्वमा पनि निरन्तरता दिनु जरुरी छ। भात, रोटी, आलुजस्ता कार्बोहाइड्रेट बढी हुने खानेकुरा कम गर्ने, तरकारी, सलाद, दाल तथा हरियो पातयुक्त सागसब्जी बढी खाने सुझाव दिइन्छ। मासुको कुरा गर्दा रातो मासुभन्दा सेतो मासु (माछा, कुखुरा) छनोट गर्नु उपयुक्त हुन्छ। गुलियो मिठाई खानैपरे पनि एक–दुई चम्चा मात्र चाख्ने गरी सीमित गर्नु राम्रो हुन्छ।

मदिरा सेवन विशेषगरी इन्सुलिन प्रयोग गर्ने बिरामीका लागि बढी खतरनाक हुन्छ। यसले केही घण्टामै सुगर बढाउने र लामो समयपछि सुगर एक्कासी घटाउने दुवै असर गर्न सक्छ। त्यसैले सकेसम्म मदिरा सेवन नगर्ने वा अत्यन्तै थोरै मात्रामा मात्र सेवन गर्ने सुझाव दिइन्छ।

इन्सुलिन प्रयोग गर्नेले ध्यान दिनुपर्ने कुरा

इन्सुलिन प्रयोग गर्ने बिरामीले लामो समयसम्म पेट खाली राख्नु हुँदैन। ३–४ घण्टाभन्दा लामो समय भोकै बस्दा सुगर लो हुने सम्भावना हुन्छ। त्यसैले थोरै–थोरै गरेर तरकारी, फलफूल वा हल्का खाजा खाने बानी बसाल्नु उपयुक्त हुन्छ। औषधि र इन्सुलिन समयमै र चिकित्सकले भनेजस्तै मात्रामा प्रयोग गर्नुपर्छ।

मधुमेहबारे समाजमा रहेका भ्रम

हाम्रो समाजमा “सबै मधुमेह भएका बिरामी एउटै हुन्छन्” भन्ने गलत धारणा छ। तर वास्तवमा मधुमेहको प्रकार, बिरामीको शरीर संरचना र जीवनशैली फरक–फरक हुन्छन्। त्यसैले एउटै बिरामीलाई दिइएको औषधि वा इन्सुलिन अर्को बिरामीलाई उपयुक्त नहुन सक्छ। इन्सुलिन कहिले र कति मात्रामा लिनुपर्छ भन्ने कुरा पनि डाक्टरले तोकेको निर्देशन अनुसार फरक–फरक हुन्छ।

मधुमेहले निम्त्याउने जटिलता

मधुमेहले छोटो समयमै देखिने र दीर्घकालीन दुवै समस्या ल्याउन सक्छ। छोटो अवधिमा सुगर एक्कासी घट्दा वा बढ्दा समस्या उत्पन्न हुन्छ । दीर्घकालीन जटिलतामा मस्तिष्कघात, मुटु सम्बन्धी रोग, मृगौला बिग्रने, दृष्टि कमजोर हुने, खुट्टा बिग्रने, स्नायु समस्या लगायतका गम्भीर अवस्था पर्न सक्छन् । यसलाई रोकथाम गर्न सुगरलाई निरन्तर नियन्त्रणमा राख्नु अनिवार्य हुन्छ।

मधुमेह भएका बिरामीले गर्नुपर्ने पाँच कुरा

मधुमेह भएका बिरामीले जीवनशैलीमा सन्तुलन ल्याउनु सबैभन्दा महत्वपूर्ण छ । त्यसका लागिः

१. सन्तुलित आहार खाने

२. दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने

३. औषधि वा इन्सुलिन चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्ने

४. तनाव, धूमपान र मदिरा सेवन नगर्ने

५. नियमित रुपमा स्वास्थ्य परीक्षण तथा डाक्टरसँग परामर्श गर्ने

यी पाँच अभ्यासलाई जीवनशैलीमा उतार्न सकेमा चाडपर्वमा मात्र होइन, वर्षैभरि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ।

प्रतिकृया दिनुहोस