• ३० श्रावण २०८३, शनिबार

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक आन्दोलित

मोरङको सुन्दरहरैँचा नगरपालिका७ गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको शिक्षण अस्पतालका ज्यालादारी चिकित्सक आन्दोलित बनेका छन्। अस्पतालको अवस्था लथालिंग हुँदा बिरामीले प्रभावकारी उपचार पाउन नसकिरहेका बेला मंगलबारदेखि सेवा समय एक घण्टा छोट्याएर चिकित्सक पनि आन्दोलनमा उत्रिएका हुन्। ४/५ वर्षदेखि दैनिक ज्यालादारीमा काम गरिरहँदा विश्वविद्यालयले नियुक्तिको कुनै प्रक्रिया अघि नबढाएको गुनासो उनीहरुको छ।

चिकित्सकको आन्दोलनका कारण सेवा प्रभावित बन्दा बिरामीले उपचार पाउन सकिरहेका छैनन्। अस्पताल थप भद्रगोल हुने परिस्थिति बनेको छ। उनीहरुले भदौ १ गतेदेखि हातमा कालो पट्टी बाँधेर सांकेतिक विरोध गरिरहेका थिए।

विश्वविद्यालयले लामो समयदेखि ज्यालादारीमा राखेर काममा लगाउन नपाइने नियमको बर्खिलाप गरिरहेको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धीरज सिंहले बताए। उनका अनुसार करारमा भर्ना खुलाएर ज्यालादारीमा रहेकालाई चिकित्सकलाई नियुक्ति दिनुपर्ने मुख्य माग राखेर आन्दोलन थालिएको हो।

लामो समयदेखि ज्यालादारीमा काम गर्नु परिरहेको छ। यसरी चार दिनभन्दा बढी काममा लगाउनु गैरकानुनी हो,’ डा. सिंहले भने, ‘सीमित समयसम्म मात्रै सेवा प्रवाह गरेर आन्दोलनमा उत्रिएका छौँ। दुई दिनभित्र माग पूरा नभए सबै सेवा ठप्प पार्छौँ।उनका अनुसार यसअघि दिनको १२ बजेसम्म बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरिरहेकोमा मंगलबारदेखि एक घण्टा घटाएर ११ बजेसम्म मात्रै गर्न थालिएको छ।

डा. सिंहले २०७० सालमै निर्धारण गरिएको न्यून ज्यालामा चिकित्सकले काम गरिरहनु परेको बताए। हाम्रा समस्या विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बारम्बार राखिसकेका छौँ, 'उनी भन्छन्, 'आश्वासन एवं सान्त्वना मात्रै दिने र मागको सुनुवाई नगर्ने प्रवृत्ति हाबी हुँदा चिकित्सक वर्षौदेखि पीडित भइरहेका छौँ।

विश्वविद्यालयका अरु कर्मचारीको तलब बर्षेनि बढिरहे पनि चिकित्सकलाई भने कोरोना जोखिम र महँगीको मारका बेला क्लिनिकमा निश्चित समय तोकेर सेवामा बोलाए जसरी सामान्य ज्यालामा काममा लगाइएको उनको जिकिर छ। विश्वविद्यालयले चासो नदिएपछि चरणवद्ध आन्दोलन गर्ने घोषणा अनुरूप सेवाको समय घटाएर दिनको एक घण्टा मात्रै बिरामीलाई हेर्न थालिएको डा. सिंहको भनाइ छ। हामी अब बुधबारसम्म मात्रै पर्खिन सक्छौँ,' उनी भन्छन्, ‘वास्ता नगरिए बिहीबारदेखि काम नै छाडेर जान्छौँ।

चिकित्सकीय क्षेत्रकै अपमान भइरहेको गुनासो गर्दै उनले ज्यालादारीका कारण बिरामीलाई प्रभावकारी सेवा दिन नसकिएको स्वीकार गरे। हाम्रा माग पूरा हुँदैनन् भने विदा दिनुस् पनि भनिसकेका छौँ,’ डा. सिंहले भने, ‘न चिकित्सकलाई विदा गरिन्छ, न त समस्याको सुनुवाई नै हुन्छ।राजनैतिक खिचातानीको कोपभाजनमा परेर स्वार्थपूर्ण रूपमा सञ्चालन भइरहेको पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सुधारमा चासो नदिएको गुनासो चिकित्सकको छ।

अस्पतालमा विशेषज्ञ र मेडिकल अफिसर गरेर १२ जना चिकित्सकले दैनिक ज्यालादारीमा काम गरिरहनु परेको डा. सिंहले बताए। उनका अनुसार अरु दुई जना विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरलाई मात्रै नियुक्ति दिएर काममा लगाइएको छ। अस्पतालमा १९ जना नर्सिङ कर्मचारी छन्।

विश्वविद्यालयले पारामेडिकलअन्तर्गतको शैक्षिक कार्यक्रम बीएससी नर्सिङ र बीएन चलाइएको छ। त्यसका लागि अस्पताल आवश्यक पर्छ। तर विश्वविद्यालयले छायाँमा राखेका कारण अस्पताल धराशायी बनिरहँदा नर्सिङ क्याम्पस नै बन्द हुने अवस्थामा पुगेको एक चिकित्सकले बताए।

अस्पतालमा व्यवस्थित प्रयोगशाला (ल्याब) र एक्सरे, भिडियो एक्सरे, फिजियो थेरापी एवं इसिजी सेवा पनि छ। अस्पतालमा छाला तथा यौन रोग, बाल रोग, हाडजोर्नी, बाथ तथा नशा रोग, प्रसूति तथा स्त्रीरोग, नाक, कान एवं घाँटी रोग, फिजिसीयन र आँखा रोग विभागको सेवा छ। २४ घण्टा नै सञ्चालन हुनपर्ने आकस्मिक विभाग दैनिक १२ घण्टा मात्रै चल्छ। आकस्मिक कक्षमा बिरामी भर्ना नै लिइँदैन। बिरामी भर्ना गराउने वार्डसमेत नभएको अस्पतालमा कुनै शल्यक्रिया हुँदैन।

अस्पतालमा उपचार एवं स्वास्थ्य परीक्षणका लागि दैनिक तीन सय जनासम्म बिरामी पुग्ने गरेका छन्। विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्राविधिक र उपकरणसमेत भएको अस्पतालबाट उपचार नपाउँदा सर्वसाधारण भने हण्डर बेहोर्न बाध्य भइरहेको गुनासो स्थानीयको छ।

अस्पताल निर्देशक डा. विपेश आचार्यले चिकित्सकको माग पूरा गर्न नसक्नु अस्पतालकै कमजोरी रहेको स्वीकार गरे।चिकित्सकले राखेका मागको सम्बोधन केही दिनभित्रै हुन्छ, 'उनले भने, ‘अस्पताललाई पनि थप व्यवस्थित गरेर सञ्चालन गरिने छ।

यो समाचार किशोर बुढाथोकीले आजको अन्नपुर्ण पोस्टमा लेखेका छन्।

 

प्रतिकृया दिनुहोस