एन्टिमाइक्रोबियल रेसिस्टेन्स: विश्व स्वास्थ्यका लागि बढ्दो चुनौती
आज विश्व स्वास्थ्य क्षेत्रमा देखिएका गम्भीर चुनौतीमध्ये एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) पनि एक हो। सामान्य भाषामा भन्नुपर्दा, संक्रमण निको पार्न प्रयोग गरिने एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता घट्दै जानु वा सूक्ष्मजीवहरूले ती औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्नु नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स हो।
नेपाल सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सन् २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना स्वीकृत गरिसकेको छ। यस योजनाले मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा, कृषि र वातावरणलाई समेट्दै ‘वान हेल्थ’ अवधारणा अपनाएको छ। तर नीति तथा योजना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन। यसको प्रभावकारी कार्यान्वयन र सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक छ।
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई मानव स्वास्थ्यका लागि विश्वकै प्रमुख सार्वजनिक स्वास्थ्य खतरामध्ये एक मानेको छ। सन् २०१९ मा विश्वभर ब्याक्टेरियाबाट हुने औषधि प्रतिरोधका कारण प्रत्यक्ष रूपमा करिब १२ लाख ७० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको थियो भने करिब ४९ लाख ५० हजार मृत्युमा यसको योगदान रहेको थियो। यसको असर कुनै निश्चित देश वा समुदायमा मात्र सीमित छैन। विकसित राष्ट्रदेखि विकासोन्मुख देशसम्म सबै यसबाट प्रभावित छन्।
सबैभन्दा चिन्ताको विषय के हो भने, सामान्य संक्रमणको उपचारमा प्रयोग हुने औषधिसमेत प्रभावहीन हुँदै गएमा सामान्य शल्यक्रिया, प्रसूति सेवा, क्यान्सर उपचार र सघन उपचार सेवा पनि जोखिमपूर्ण बन्न सक्छन्।
नेपालमा पनि गम्भीर बन्दै एएमआरको चुनौती
विश्व स्वास्थ्य संगठनले सन् २०२४ मा प्रकाशित गरेको नेपालसम्बन्धी विवरणअनुसार सन् २०१९ मा नेपालमा एएमआरका कारण प्रत्यक्ष रूपमा करिब ६ हजार ४०० जनाको मृत्यु भएको थियो भने अन्य २३ हजार २०० जनाको मृत्युमा यसको योगदान रहेको अनुमान गरिएको थियो।
नेपालका २६ वटा अस्पतालबाट संकलित निगरानी तथ्यांकमा ई. कोलाईमा ५१ प्रतिशत, क्लेब्सिएलामा ५६ प्रतिशत र एसिनेटोब्याक्टरमा ७२ प्रतिशत बहुऔषधि प्रतिरोध देखिएको उल्लेख छ।
यी तथ्यांकले नेपालमा पनि एएमआरको चुनौती गम्भीर बन्दै गएको स्पष्ट पार्छन्। त्यसैले यसलाई स्वास्थ्य मन्त्रालय वा अस्पतालको मात्र समस्या ठान्नु हुँदैन। औषधि उत्पादनदेखि वितरण, प्रयोग र विसर्जनसम्मका प्रत्येक चरणमा जिम्मेवारी आवश्यक छ।
औषधि प्रयोगमा जिम्मेवारी आवश्यक
एन्टिबायोटिक अत्यन्त महत्त्वपूर्ण औषधि हो। तर यसको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ। कुन संक्रमणमा कुन एन्टिबायोटिक उपयुक्त हुन्छ भन्ने निर्णय चिकित्सक तथा सम्बन्धित विज्ञको परामर्शमा हुनुपर्छ। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्ने, आफूखुसी औषधिको मात्रा घटाउने वा बढाउने तथा उपचारको अवधि पूरा नगरी औषधि बन्द गर्ने प्रवृत्ति रोक्न आवश्यक छ।
एन्टिबायोटिकले ब्याक्टेरियाबाट हुने संक्रमणविरुद्ध काम गर्छ, भाइरसबाट हुने सामान्य रुघाखोकी वा फ्लुमा होइन। त्यसैले सामान्य रुघाखोकी लाग्नेबित्तिकै एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ। चिकित्सकले तोकेको मात्रा र अवधिअनुसार औषधि प्रयोग गर्नु नै यसको प्रभावकारिता जोगाउने महत्त्वपूर्ण उपाय हो।
लेखकका रूपमा औषधि क्षेत्रमा काम गरेको झन्डै ४० वर्षको अनुभवमा एन्टिमाइक्रोबियल औषधिको विकास र प्रयोगमा आएको परिवर्तनलाई नजिकबाट नियाल्ने अवसर पाएको छु। पहिले पेनिसिलिन भी जस्ता सामान्य एन्टिबायोटिकको प्रयोग व्यापक थियो। समयक्रममा सेफ्टाजिडिम, मेरोपेनेम, ट्याजोब्याक्टमलगायत विभिन्न नयाँ औषधि तथा औषधि संयोजन प्रयोगमा आए। तर पछिल्लो समय नयाँ पुस्ताका एन्टिबायोटिकमा समेत ब्याक्टेरियाको प्रतिरोध क्षमता देखिन थालेको छ। यसले भविष्यमा संक्रमणको प्रभावकारी उपचारका लागि थप चुनौती सिर्जना गरेको छ।
आजभन्दा तीन–चार दशकअघि केही सामान्य एन्टिबायोटिकबाट धेरै प्रकारका ब्याक्टेरियाजन्य संक्रमणको उपचार गर्न सम्भव थियो। तर अहिले औषधिको प्रभावकारिता घट्दै जाँदा नयाँ औषधिको आवश्यकता बढिरहेको छ। ब्याक्टेरियामा हुने आनुवंशिक परिवर्तन तथा औषधिको अनुचित प्रयोगले प्रतिरोध क्षमता विकास गर्न सहयोग पुर्याउँछन्। एउटा औषधिले काम नगरे अर्को प्रयोग गर्नुपर्ने अवस्था आउनु र त्यसमा समेत प्रतिरोध देखिनु विश्व स्वास्थ्यका लागि गम्भीर चुनौती हो।
निमोनियाजस्ता सामान्य मानिने संक्रमणमा समेत एन्टिबायोटिक प्रतिरोधका कारण उपचार कठिन भएको र बिरामीको अवस्था गम्भीर बनेका उदाहरण छन्। सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका बिरामीलाई कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पत्ता लगाउन प्रयोगशालामा कल्चर तथा एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गरिन्छ। यसले कुन औषधिले संक्रमण गराउने ब्याक्टेरियाविरुद्ध प्रभावकारी काम गर्छ भन्ने जानकारी दिन्छ। लामो समयदेखि प्रयोगमा रहेका औषधिमा समेत प्रतिरोध देखिनु एएमआरको गम्भीरताको प्रमाण हो।
पशु स्वास्थ्य र वातावरणमा पनि ध्यान दिनुपर्छ
एन्टिमाइक्रोबियल रेसिस्टेन्स मानव स्वास्थ्यमा मात्र सीमित छैन। पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोगले पनि औषधि प्रतिरोधको समस्या बढाउन सक्छ। पशुपन्छीमा विकसित भएका औषधि प्रतिरोधी ब्याक्टेरिया खाद्य पदार्थ, प्रत्यक्ष सम्पर्क तथा वातावरणका माध्यमबाट मानिससम्म पुग्न सक्छन्।
त्यसैले पशुपन्छीमा पनि एन्टिबायोटिक प्रयोग गर्दा पशु चिकित्सक तथा सम्बन्धित विज्ञको सल्लाह लिनुपर्छ। पशुजन्य खाद्य पदार्थको उत्पादन तथा उपभोगमा औषधिको अवशेष र त्यसको सम्भावित असरलाई समेत ध्यान दिन आवश्यक छ।
मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण एकअर्कासँग जोडिएका विषय हुन्। यही अन्तरसम्बन्धलाई ध्यानमा राखेर ‘वान हेल्थ’ अवधारणाअनुसार एएमआर नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्छ।
औषधि कम्पनीहरूको जिम्मेवारी
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा औषधि उत्पादक कम्पनीहरूको भूमिका पनि महत्त्वपूर्ण छ। औषधि उत्पादन गर्ने कम्पनीको पहिलो दायित्व गुणस्तरीय, सुरक्षित र प्रभावकारी औषधि बजारमा उपलब्ध गराउनु हो।
उत्पादनदेखि भण्डारण र वितरणसम्मका सबै चरणमा निर्धारित गुणस्तर मापदण्ड पालना हुनुपर्छ। औषधिको गुणस्तर कायम राख्न डब्लुएचओ–जीएमपी मापदण्ड, कच्चा पदार्थको परीक्षण, उत्पादन प्रक्रियाको नियन्त्रण, स्थिरता परीक्षण तथा तयार औषधिको गुणस्तर परीक्षणमा विशेष ध्यान दिनुपर्छ।
हामी औषधि उत्पादकहरूले औषधि व्यवस्था विभागको नियमन तथा मार्गदर्शन र डब्लुएचओ–जीएमपीका मापदण्डअनुसार औषधि उत्पादन गर्नुपर्छ। यसका साथै एन्टिमाइक्रोबियल रेसिस्टेन्सबाट हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरणमा आफ्नो क्षेत्रबाट योगदान पुर्याउन प्रतिबद्ध हुनुपर्छ।
औषधि कम्पनीहरूले एन्टिबायोटिकको प्रचारप्रसार गर्दा जिम्मेवार अभ्यास अपनाउनुपर्छ। प्रचार सामग्रीमा औषधि व्यवस्था विभागले स्वीकृत गरेका विवरण र वैज्ञानिक रूपमा प्रमाणित सन्दर्भ सामग्री मात्र समावेश गर्नुपर्छ। एन्टिबायोटिकको सही प्रयोग, चिकित्सकको परामर्श र निर्धारित उपचार अवधि पालना गर्नुपर्ने विषयलाई जनचेतनामूलक सन्देशका रूपमा प्राथमिकता दिन सकिन्छ।
सरकारले पनि गुणस्तरीय औषधि उत्पादन, जिम्मेवार औषधि प्रवर्द्धन तथा एएमआर नियन्त्रणमा योगदान पुर्याउने उद्योगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्छ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा सामाजिक जिम्मेवारी
एन्टिमाइक्रोबियल रेसिस्टेन्स केवल स्वास्थ्य क्षेत्रको समस्या होइन, यो सम्पूर्ण समाजको साझा जिम्मेवारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको विषय हो। समाजका प्रत्येक व्यक्तिले औषधिको सही प्रयोगबारे बुझ्नु र अरूलाई पनि सचेत गराउनु आवश्यक छ।
चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्ने, अरूले प्रयोग गरेको औषधि आफूले नखाने, बाँकी रहेको एन्टिबायोटिक पुनः प्रयोग नगर्ने तथा चिकित्सकले दिएको उपचार योजनाको पालना गर्ने बानी विकास गर्नुपर्छ। औषधिको अनुचित प्रयोग रोक्न सर्वसाधारणमा जनचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ।
यसै सन्दर्भमा, आज ५ नोभेम्बर २०२६ मा औषधि व्यवस्था विभागको आयोजना तथा विश्व स्वास्थ्य संगठनको संलग्नतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ससम्बन्धी कार्यशाला आयोजना गरिएको छ। यस्तो कार्यक्रमको मुख्य उद्देश्य नेपाल तथा विश्वभर बढ्दै गएको एएमआरको अवस्थाबारे सरोकारवालालाई जानकारी गराउनु र यसको नियन्त्रणका लागि आवश्यक रणनीति तथा उपाय पहिचान गर्नु हो। भविष्यमा हामी वा हाम्रा प्रियजन बिरामी पर्दा प्रभावकारी एन्टिमाइक्रोबियल औषधि उपलब्ध भइरहोस् र त्यसको उचित प्रयोगबाट रोग निको पार्न सकियोस् भन्ने सुनिश्चित गर्नु नै यसको प्रमुख उद्देश्य हुनुपर्छ।
अन्ततः, एन्टिबायोटिकको प्रभावकारिता जोगाउनु कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासले मात्र सम्भव छैन। औषधि उत्पादक, चिकित्सक, औषधि व्यवसायी, पशु चिकित्सक, सरकारी निकाय र सर्वसाधारण सबैको सामूहिक प्रयास आवश्यक छ। आज हामीले औषधिको प्रभावकारिता जोगाउन सकेनौँ भने भोलिका पुस्ताले सामान्य संक्रमणको उपचारका लागि समेत ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। त्यसैले एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणलाई आजैदेखि साझा प्राथमिकता बनाउन आवश्यक छ।





..jpeg)











प्रतिकृया दिनुहोस