• २५ कार्तिक २०८३, बुधबार

नर्स ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको हो। भट्टले हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आए पनि सुनुवाइका क्रममा ममताको शव टुक्र्याएर फोहोरमा फालेको भने स्वीकार गरेका थिए।

सन् २०२४ जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। भट्टले ममता घरको शयनकक्षमा अचेत अवस्थामा भेटिएको र ब्युँताउने प्रयास असफल भएपछि प्रहरीलाई खबर नगरी शव लुकाएको दाबी गरेका थिए।

तर सरकारी वकिलहरूले भट्टले नै ममताको हत्या गरी विद्युतीय आराले शव टुक्र्याएर विभिन्न स्थानमा फालेको दाबी गरेका थिए। अदालतमा प्रस्तुत फरेन्सिक प्रमाणमा आराको भित्री भागबाट प्राप्त नमुनाको डीएनए ममतासँग मेल खाएको तथा शयनकक्षको कार्पेटमा पनि ममता र उनकी छोरीको डीएनए भेटिएको उल्लेख गरिएको थियो।

करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले बयान दिएका थिए। भट्टले ममताका आफन्त, साथीभाइ र प्रहरीसँग झूट बोलेको पनि अदालतमा स्वीकार गरेका थिए।

भट्टलाई प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ। उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस