अमेरिकामा दादुराको संक्रमण ३ दशकयताकै उच्च
लस एन्जलस । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका संक्रमितको संख्या एक हजार नाघेको छ। राज्यको स्वास्थ्य विभागका अनुसार हालसम्म ३९ काउन्टीमा एक हजार ४ जनामा दादुरा पुष्टि भएको छ। संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य अधिकारीका अनुसार यो पेन्सिल्भेनियामा तीन दशकभन्दा बढी समययताकै ठूलो दादुरा प्रकोप हो। अप्रिलको अन्त्यतिर सुरु भएको प्रकोपमा पुष्टि भएका संक्रमितमध्ये चार जनाले मात्रै दादुरा, गलगाँड र रुबेला (एमएमआर) खोप लगाएका थिए।
प्रकोप बढेसँगै राज्यमा एमएमआर खोप लगाउनेको संख्या बढेको छ। स्वास्थ्य विभागका अनुसार अगस्टमा ४९ हजारभन्दा बढी र सेप्टेम्बरमा ५३ हजारभन्दा बढी डोज एमएमआर खोप लगाइएको थियो। दुई डोज एमएमआर खोपले दादुराबाट करिब ९७ प्रतिशत सुरक्षा दिने विभागले जनाएको छ।
यसैबीच, न्यूयोर्कमा पनि दादुरा संक्रमण बढेको छ। अक्टोबर ३ सम्म राज्यमा १०८ संक्रमित पुष्टि भएका छन्। बढ्दो संक्रमणलाई ध्यानमा राख्दै गभर्नर क्याथी होकुलले राज्यमा विपद् आपत्काल घोषणा गरेकी छन्।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अक्टोबर १ सम्म देशभर ३ हजार ८८७ दादुरा संक्रमित पुष्टि भएका छन्। सन् २०२६ को यो संख्या सन् १९९१ यताकै उच्च भएको सीडीसीले जनाएको छ। स्वास्थ्य अधिकारीहरूले दादुराबाट जोगिन पूर्ण खोप लगाउन आग्रह गरेका छन्।

..jpeg)







..jpeg)














प्रतिकृया दिनुहोस