डा. तोसिमा कार्कीको सरकारलाई प्रश्न : सहमति कार्यान्वयन नहुँदा डा. केसीले पटक–पटक अनशन बस्नुपर्ने अवस्था किन ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले पटक–पटक अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएकी छन्।
उनले सामाजिक संजालमा लेख्दै डा. केसीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानलाई नजिकबाट बुझ्ने र समर्थन गर्ने व्यक्तिहरू नै मन्त्रिपरिषद्मा रहँदा पनि पछिल्लो ६ महिनामा दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी हुन्।
डा. कार्कीले यसअघिको सत्याग्रहका क्रममा सरकारले गरेका सहमति किन कार्यान्वयन भइरहेका छैनन् भन्ने प्रश्नसमेत उठाएकी छन्।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले रगतमा चिनीको मात्रा र रक्तचाप घट्नुका साथै मुटु तथा मांसपेशी दुख्ने समस्या देखिएको स्वास्थ्य सूचनाले आफूलाई दुःखी बनाएको बताएकी छन्।
‘जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला,’ उनले भनेकी छन्।

डा. कार्कीले तत्काल वार्ता गरेर सहमति कायम गर्न र त्यसको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेकी छन्। आगामी दिनमा यस्ता अवस्था आउन नदिन समयमै समस्या पहिचान गर्ने, छलफल गर्ने र आवश्यक समन्वय गर्ने पद्धति विकास गर्नुपर्ने उनको भनाइ छ।
‘सत्य र निष्ठाको धरोहरले यो इमानको राज्यमै पनि वृद्ध भइसकेको शरीरमार्फत पटक–पटक अग्निपरीक्षा दिनुपर्ने स्थिति नबनाइयोस्,’ उनले भनेकी छन्।



















प्रतिकृया दिनुहोस