• १६ कार्तिक २०८३, सोमबार

डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाडौं। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै ५ दिन देखि आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाल चिकित्सक संघले उहाँको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा डा. केसीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको हो।

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्यसमेत रहनुभएका डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासन कायम गर्न लामो समयदेखि आवाज उठाउँदै आउनुभएका डा. केसी विगत चार दिनदेखि आमरण अनशनमा हुनुहुन्छ।

संघका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। उहाँको शरीरमा रगतमा चिनी र अक्सिजनको मात्रा कम हुनुका साथै श्वासप्रश्वासमा समेत कठिनाइ देखिएपछि अक्सिजन दिएर उपचार भइरहेको छ। चिकित्सकहरूले थप सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको जानकारीले संघलाई थप चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ।

डा. केसीले उठाउनुभएका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारले उहाँसँग अविलम्ब वार्ता गरी समस्याको समाधान खोज्नुपर्ने संघको माग छ।

त्यस्तै, उहाँको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन र आमरण अनशन अन्त्य गर्ने वातावरण निर्माण गर्न पनि संघले सरकार र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस