• २५ असोज २०८३, आइतबार

प्रकाशकीयः मेडिकलपत्र डटकमको ६ वर्ष पूरा

प्रकाशकीय

मेडिकलपत्र डटकम आफ्नो स्थापनाको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ। यो यात्रामा हामीलाई स्वास्थ्य पत्रकारितामार्फत समाजसँगको सम्बन्ध थप आत्मीय र गहिरो भएको महसुस भएको छ।

मेडिकलपत्र डटकमले अहिलेसम्मको यात्रामा स्वतन्त्र र निष्पक्ष समाचार लेखेको छ, प्रश्न उठाएको छ, बहस चलाएको छ र स्वास्थ्य क्षेत्रका सम्भावना तथा समस्यालाई पाठकमाझ ल्याउने प्रयास गरेको छ। आगामी दिनमा पनि यो प्रयास निरन्तर जारी राख्नेछ भन्ने विश्वास दिलाउन चाहन्छौं। यस क्रममा हामीसँग जोडिनुहुने पाठक, स्वास्थ्यकर्मी, चिकित्सक, विज्ञ, औषधि व्यवसायी, स्वास्थ्य संस्था, शुभेच्छुक तथा सम्पूर्ण सहयात्रीप्रति हृदयदेखि नै आभारी छौँ।

संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ। तर व्यवहारमा पूर्ण रूपमा लागू भएको छैन। संविधानले नै सुनिश्चित गरेको सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको अधिकारलाई कुण्ठित गर्नुहुन्न भन्ने हाम्रो स्पष्ट धारणा छ। त्यसैले, हाम्रो कलम नागरिकका पक्षमा निरन्तर चलिरहने छ।

आजभन्दा ७ वर्षअघि मेडिकलपत्र डटकमको औपचारिक सुरुवात गर्दा हामीसँग स्वास्थ्यका विषय जिम्मेवार र तथ्यपरक ढंगले उठाउने संकल्प थियो। त्यो संकल्प आज पनि छ। र, भोलिका दिनमा पनि रहिरहने छ।

चार वर्ष पूरा भएको अवसरदेखि हामीले गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा केन्द्रित हुँदै वार्षिक प्रकाशनसमेत गर्दै आएका छौँ। हरेक अंकसँगै स्वास्थ्य क्षेत्रका नयाँ प्रश्न, समस्या र सम्भावनालाई पाठकमाझ पु¥याउने प्रयास गरेका छौँ।

यस वर्षको प्रकाशनमा नेपालको औषधि उत्पादन, गुणस्तर र बजारलाई मुख्य विषयवस्तु बनाएका छौँ। नेपालमा औषधि उत्पादनको अवस्था, स्वदेशी उद्योगको क्षमता, औषधिको गुणस्तर, मूल्य, बजार, आयातमा निर्भरता तथा उद्योगले भोगिरहेका चुनौतीबारे समाचार तथा विचार प्रस्तुत गरेका छौँ।

६ वर्षको यात्रामा एउटा कुरा अझ गहिरोसँग महसुस गरेका छौँ– स्वास्थ्यका सवाल कुनै एक संस्था, क्षेत्र वा व्यक्तिका मात्र विषय होइनन्। सरकार, स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि उद्योग, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा सरोकार हुन्। त्यसैले स्वास्थ्यसम्बन्धी नीतिदेखि सेवा प्रवाहसम्म नागरिकका वास्तविक आवश्यकता, वैज्ञानिक प्रमाण र जनहितलाई केन्द्रमा राखिनुपर्छ भन्नेमा हामी दृढ छौं।

एकै अंकमा स्वास्थ्य क्षेत्रका सबै विषय समेट्न सम्भव हुँदैन। यस अंकमा समेट्न नसकेका विषयलाई आगामी दिनमा अनलाइन संस्करण तथा अर्को अंकमार्फत निरन्तर उठाउँदै जानेछौँ। स्वास्थ्य सेवाको पहुँच कसरी विस्तार गर्ने, गुणस्तर कसरी सुधार गर्ने, औषधि कसरी सहज र सुरक्षित बनाउने तथा नागरिकले स्वास्थ्य सेवाबाट कसरी वास्तविक लाभ लिन सक्छन् भन्ने विषयमा बहस, छलफल, अनुसन्धान र सुझावलाई प्राथमिकतामा राख्नेछौं।

अन्त्यमा, हामीसँगै हिँड्नु हुने सबैप्रति हार्दिक धन्यवाद। तपाईंहरूको विश्वास, सुझाव, आलोचना र हौसलाले नै मेडिकलपत्र डटकमलाई अघि बढ्ने ऊर्जा दिएको छ। आगामी दिनमा पनि जनस्वास्थ्यका आवाजलाई प्राथमिकतामा राख्दै तथ्य, सत्य र जिम्मेवार पत्रकारिताको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

६ वर्ष पूरा भई सातौं वर्षमा प्रवेश गरेको यो अवसरमा फेरि एक पटक सम्पूर्ण पाठक, शुभेच्छुक तथा विज्ञापनदाताहरूमा हार्दिक आभार।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस