युवाको मानसिक स्वास्थ्यका लागि संवाद, आत्मविश्वासमा जोड
काठमाडौं। युवाको मानसिक स्वास्थ्य सुधारका लागि उनीहरूका कुरा सुन्ने, भावना बुझ्ने र निर्णय तथा नेतृत्वमा विश्वास गरेर अवसर दिने वातावरण आवश्यक रहेको सरोकारवालाले बताएका छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोग, पुस्ताबीचको बुझाइमा फरक, सामाजिक दबाब र तत्काल परिणाम खोज्ने प्रवृत्तिले युवाको मानसिक स्वास्थ्यमा चुनौती थपिरहेको उनीहरूको भनाइ छ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा ‘सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६’ आयोजना गरिएको हो। २०१८ देखि विद्यालयमा आधारित मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था सम्भाव्य फाउन्डेसको आयोजना र वाट्सन इन्स्टिच्युटको सहकार्यम भएको समिटको नारा ‘जीवन्त अनुभवको सुनुवाइ : वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ।
समिटअन्तर्गत ‘रिडिफाइनिङ नर्मल : हाउ युथ लिभ्ड एक्सपेरियन्स इज रिराइटिङ मेन्टल हेल्थ इन २०२६ एन्ड बियोन्ड’ विषयमा आयोजित ओपन चेयर संवाद तथा प्यानल छलफलमा जेसीआई ग्लोबलकी अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा उद्यमी रजानी थापा, साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मी र कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट मनोचिकित्सक डा. शुभा श्रेष्ठले युवाको मानसिक स्वास्थ्यसँग जोडिएका विभिन्न पक्षबारे धारणा राखेका थिए।
वक्ताहरूले युवाको मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्याका रूपमा मात्र नहेरी परिवार, समाज, पुस्ताबीचको सम्बन्ध र सामाजिक वातावरणसँग जोडेर बुझ्नुपर्नेमा जोड दिए। छलफलमा सहभागी युवा प्रतिनिधिहरूले पनि आफ्ना अनुभव र जिज्ञासा राखेका थिए।
युवालाई विश्वास र अवसर दिनुपर्छ : रजानी थापा
जेसीआई ग्लोबलकी अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा उद्यमी रजानी थापाले युवालाई अनुभव नभएका, अपरिपक्व वा जिम्मेवारी सम्हाल्न नसक्ने व्यक्तिका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताइन्। युवामा क्षमता र नेतृत्व गर्ने इच्छाशक्ति भए पनि विश्वास गरेर अवसर नदिँदा उनीहरूको आत्मविश्वास कमजोर हुन सक्ने र अरूसँग तुलना गर्ने प्रवृत्ति बढ्न सक्ने उनको भनाइ थियो।
नेपालसहित विभिन्न देशका युवासँगको आफ्नो अनुभव सुनाउँदै उनले युवाले नेतृत्वमा अवसर नपाउनु र वरिष्ठ पुस्ताले उनीहरूको क्षमतामाथि निरन्तर प्रश्न उठाउनु निराशाको कारण बन्न सक्ने बताइन्।
“युवालाई आफूमाथि विश्वास हुनुपर्छ र वरिष्ठ पुस्ताले पनि अवसर दिनुपर्छ,” उनले भनिन्।
थापाले युवाको मानसिक स्वास्थ्य र आत्मविश्वास निर्माणमा परिवारको भूमिकालाई पनि महत्त्व दिइन्। अभिभावकले सानैदेखि आफ्ना कुरा सुन्ने, क्षमता पहिचान गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण बनाएकाले आफूलाई अघि बढ्न सहयोग पुगेको उनले व्यक्तिगत अनुभव सुनाइन्।
उनले सामाजिक सञ्जालमा अरूको आलोचना गर्नुभन्दा समस्याको समाधानसमेत प्रस्तुत गर्ने संस्कार विकास गर्न युवालाई आग्रह गरिन्। समाज परिवर्तन गर्न चाहने युवाले आफ्ना विचारसँगै व्यवहार र कामबाट पनि परिवर्तनको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो।
मानसिक स्वास्थ्यका लागि आफैँभित्र काम गर्नुपर्छ : डा. आरती चन्द रेग्मी
साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मीले शारीरिक, मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्य एकअर्कासँग जोडिएको बताइन्। स्वास्थ्यलाई शरीरमा रोग नहुनुमा मात्र सीमित गर्न नमिल्ने भन्दै उनले जीवनका चुनौती सामना गर्ने क्षमता र आवश्यक पर्दा अरूसँग सहयोग माग्न सक्ने अवस्थालाई पनि मानसिक स्वास्थ्यको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गरिन्।
आफ्नो जीवनका कठिन अनुभव सुनाउँदै उनले व्यक्तिगत दुःख, स्वास्थ्यसम्बन्धी समस्या र पारिवारिक जिम्मेवारीबीच आफूलाई सम्हाल्न योग, ध्यान, श्वासप्रश्वासका अभ्यास र नियमित गतिविधिले सहयोग गरेको बताइन्।
उनका अनुसार बाहिरी परिस्थिति सधैँ आफूले चाहेअनुसार नहुन सक्छ। तर आफ्ना भावना, सोच र व्यवहारप्रति सचेत हुँदै आफूलाई सम्हाल्ने अभ्यास गर्न सकिन्छ।
“म जस्तो छु, त्यही अवस्थामा पनि पर्याप्त छु भन्ने आत्मस्वीकृति आवश्यक छ,” उनको प्रस्तुतिको मुख्य सन्देश थियो।
उनले अरूसँग तुलना गर्ने र अरूले के भन्लान् भन्ने चिन्तामा आफ्नो खुसी निर्भर बनाउँदा मानसिक दबाब बढ्न सक्ने बताइन्। बाहिरबाट हाँसिरहेको देखिने व्यक्तिभित्र पनि चिन्ता वा पीडा हुन सक्ने भएकाले अरूको अवस्था नबुझी मूल्याङ्कन गर्न नहुने उनको भनाइ थियो।
रेग्मीले मानसिक स्वास्थ्य सुधारका लागि आफ्ना विचार र भावनाप्रति सचेत हुने, सकारात्मक अभ्यासलाई निरन्तरता दिने र आवश्यक पर्दा सहयोग लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
सामाजिक सञ्जाल र तत्काल परिणाम खोज्ने प्रवृत्ति चुनौती : डा. शुभा श्रेष्ठ
कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट मनोचिकित्सक डा. शुभा श्रेष्ठले पछिल्लो पुस्तामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढे पनि किशोरकिशोरी र युवामा भावनात्मक तथा व्यवहारगत समस्या देखिने गरेको बताइन्। यस्ता समस्यामा आवश्यक परामर्श तथा उपचार लिन सक्ने वातावरण बनाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
उनका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमले मानसिक स्वास्थ्यबारे जानकारी बढाउन सहयोग गरेका छन्। बालबालिकाको व्यवहारमा परिवर्तन देखिए परामर्श वा उपचार आवश्यक पर्न सक्ने कुरा अभिभावकले पनि बुझ्न थालेका छन्। तर मानसिक स्वास्थ्यसम्बन्धी उपचार र औषधिप्रतिको हिचकिचाहट पूर्ण रूपमा हटिसकेको छैन।
श्रेष्ठले अहिलेका बालबालिका तथा किशोरकिशोरीले धेरै सूचना र उत्तेजनाको सामना गर्नुपरेको उल्लेख गर्दै प्रतीक्षा गर्ने धैर्य र समस्यासँग जुध्ने क्षमता विकास गर्नुपर्ने बताइन्।
उनका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई आफूले विगतमा भोगेको अभावबाट जोगाउन चाहँदा उनीहरूका हरेक माग तत्काल पूरा गरिदिने प्रवृत्ति बढ्न सक्छ। यसले बालबालिकामा चाहेको कुरा तुरुन्तै पाउनुपर्ने अपेक्षा विकास गराउन सक्छ। सम्बन्धमा समस्या आउँदा, परीक्षामा असफल हुँदा वा अपेक्षाअनुसार परिणाम नआउँदा त्यसलाई सामना गर्न कठिन हुन सक्ने उनको भनाइ थियो।
उनले अभिभावक र युवाबीचको पुस्तागत अन्तरले पनि संवादमा दूरी बढाउन सक्ने बताइन्। युवाले आफूलाई नबुझेको गुनासो गर्दा अभिभावकको दृष्टिकोण बुझ्ने प्रयास गर्नु र अभिभावकले पनि युवाका कुरा धैर्यपूर्वक सुन्नु आवश्यक रहेको उनले औँल्याइन्।
श्रेष्ठले युवालाई समस्या पर्दा ‘मलाई कसैले बुझ्दैन’ भन्ने निष्कर्षमा पुग्नुभन्दा संवाद गर्ने र अर्को पक्षको दृष्टिकोण बुझ्ने प्रयास गर्न सुझाव दिइन्। अभिभावक र युवाबीचको संवादले आपसी बुझाइ बढाउन तथा समस्या समाधानका उपाय पहिल्याउन सहयोग पुग्ने उनको भनाइ थियो।
उनले युवालाई मोबाइल तथा सामाजिक सञ्जालमा बिताउने समय र परिवारसँग बिताउने समयबारे आत्ममूल्याङ्कन गर्न आग्रह गरिन्। अभिभावकले पनि बालबालिकाका कुरा सुन्ने, उनीहरूलाई दोष लगाएर वा निर्णय सुनाएर मात्र प्रतिक्रिया नदिने र आवश्यकताअनुसार परामर्श तथा उपचारमा सहयोग गर्ने वातावरण बनाउनुपर्ने उनले बताइन्।
कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबारे उठेको प्रश्नमा श्रेष्ठले यसलाई सहयोगी साधनका रूपमा प्रयोग गर्न सकिने भए पनि आफ्ना समस्या समाधान गर्न पूर्ण रूपमा यसैमा निर्भर हुन नहुने धारणा राखिन्। एआईबाट प्राप्त जानकारीको सत्यता मूल्याङ्कन गर्नुपर्ने र वास्तविक जीवनका सम्बन्ध तथा संवादलाई महत्त्व दिनुपर्ने उनको सुझाव थियो।
परिवारसँग संवाद र आत्मनिर्भरता आवश्यक
छलफलमा तीनै वक्ताले युवाको मानसिक स्वास्थ्य सुधारका लागि परिवार, समाज र युवाले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अभिभावकले बालबालिकालाई आफ्ना कुरा राख्ने अवसर दिनुपर्ने, उनीहरूका भावनालाई सामान्य भनेर बेवास्ता गर्न नहुने र युवाले पनि परिवारको अवस्था तथा अभिभावकको दृष्टिकोण बुझ्ने प्रयास गर्नुपर्ने उनीहरूको धारणा थियो।
वक्ताहरूले युवालाई धैर्य विकास गर्न, असफलता वा कठिन परिस्थितिलाई जीवनकै अन्त्यका रूपमा नलिन, आत्मविश्वास बढाउन र आवश्यक पर्दा सहयोग माग्न आग्रह गरे। बिहान उठ्नेबित्तिकै र सुत्नुअघि मोबाइल प्रयोग नगर्ने, योग तथा शारीरिक गतिविधिका लागि समय निकाल्ने र आफूलाई बुझ्ने अभ्यास गर्नुपर्ने सन्देश पनि उनीहरूले दिए।
कार्यक्रममा युवालाई आफ्ना अनुभव र जिज्ञासा खुला रूपमा राख्ने अवसर दिइएको थियो। छलफलमा पुस्ताबीचको अन्तर, परम्परागत सामाजिक मान्यता, महिनावारीसम्बन्धी विभेद, परिवारसँगको संवाद र एआईको प्रयोगजस्ता विषय उठेका थिए।
समिटमा मानसिक स्वास्थ्यसम्बन्धी छलफलका अतिरिक्त युवा अनुभव प्रस्तुति, सांस्कृतिक कार्यक्रम, साउन्ड बाथ, वेलनेस क्याम्प तथा कार्यशाला पनि समावेश गरिएको थियो।
कार्यक्रममा मेन्टलाइजेसनमा आधारित उपचार (एमबीटी) का प्रशिक्षक स्टेफन र्याड्ली र मनोचिकित्सक डा. दिनेश रिजाललगायतले पनि प्रस्तुति दिएका थिए।
समिटको मुख्य सन्देश युवाको मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र नहेरी उनीहरूका कुरा सुन्ने, भावना बुझ्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण निर्माण गर्नु थियो। परिवार र समाजले युवालाई विश्वास गर्ने तथा युवाले पनि आफूलाई बुझ्ने र समस्यासँग जुध्ने क्षमता विकास गर्ने हो भने मानसिक स्वास्थ्यसम्बन्धी चुनौती सामना गर्न सहयोग पुग्ने वक्ताहरूको निष्कर्ष थियो।

















प्रतिकृया दिनुहोस