• २५ असोज २०८३, आइतबार

फ्रन्टलाइन हस्पिटलद्वारा ‘एक्सिलेन्स फोरम’ सीएमई सम्पन्न

काठमाडौं। फ्रन्टलाइन हस्पिटलले चिकित्सकीय ज्ञान आदानप्रदान, आधुनिक उपचार प्रविधिबारे जानकारी तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘एक्सिलेन्स फोरम’ अन्तर्गत निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम आयोजना गरेको छ।

असोज २३ गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा विभिन्न विधाका चिकित्सक तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा फ्रन्टलाइन हस्पिटलका सीईओ डा. अशोकवर्द्धनले सहभागीलाई स्वागत गर्दै यस्ता शैक्षिक कार्यक्रमले चिकित्सकहरूबीच ज्ञान, अनुभव र नवीनतम उपचार पद्धतिबारे जानकारी आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार अस्पतालले चिकित्सकीय टोलीबीच ज्ञान आदानप्रदान, आपसी समन्वय, सहकार्य तथा टिम निर्माणलाई प्रभावकारी बनाउन विभिन्न समयमा यस्ता शैक्षिक तथा व्यावसायिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले चिकित्सकलाई आधुनिक चिकित्सा प्रविधि र उपचार पद्धतिबारे अद्यावधिक रहन सहयोग पुर्‍याउनुका साथै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसमेत योगदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा आधुनिक उपचार प्रविधिसँग सम्बन्धित दुई विषयमा विशेषज्ञ प्रस्तुति दिइएको थियो।

प्राडा अनिल भट्टराईले ‘फ्रन्टलाइन हस्पिटलमा न्यून चिरफार प्रविधिबाट मिट्रल भल्भ शल्यक्रिया’ विषयमा प्रस्तुति दिएका थिए। उनले न्यून चिरफार प्रविधिबाट गरिने मुटुको मिट्रल भल्भ शल्यक्रियाको महत्त्व तथा उपचारमा यसको उपयोगिताबारे जानकारी गराएका थिए।

त्यसैगरी, प्राडा राजीव राज मानन्धरले ‘आर्थ्रोस्कोपी : यसले के गर्न सक्छ, के गर्न सक्दैन र वास्तवमा कसलाई आवश्यक पर्छ?’ विषयमा प्रस्तुति दिएका थिए। उनले आर्थ्रोस्कोपी प्रविधिको उपयोगिता, यसको सीमितता र कुन अवस्थामा बिरामीका लागि यो उपचार विधि उपयुक्त हुन्छ भन्नेबारे जानकारी दिएका थिए।

कार्यक्रममा प्रस्तुत विषयमा चिकित्सकहरूबीच छलफल तथा ज्ञान आदानप्रदान भएको थियो। यस्ता कार्यक्रमले चिकित्सकलाई नवीनतम चिकित्सा अभ्यासबारे जानकारी हासिल गर्न, व्यावसायिक दक्षता अभिवृद्धि गर्न तथा बिरामीको अवस्था र आवश्यकताअनुसार उपयुक्त उपचार विधि छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फ्रन्टलाइन हस्पिटलका प्रमुख बिजनेस अधिकृत रोशन अधिकारीले गुणस्तरीय, सुरक्षित र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित अस्पतालले यस्ता शैक्षिक तथा व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने बताए।

उनका अनुसार स्वास्थ्य सेवामा उत्कृष्टता हासिल गर्न चिकित्सकीय ज्ञानको निरन्तर विकास, नवीन उपचार प्रविधिको अवलम्बन तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक छ। अस्पतालले बिरामीकेन्द्रित सेवा र आधुनिक उपचार प्रविधिलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको उनले बताए।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस