• २५ असोज २०८३, आइतबार

तीन बुँदे सहमतिपछि इन्टर्न चिकित्सक हरिजनले तोडे अनशन

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग राखेर पाँच दिनदेखि अनशनरत डिल्ली हरिजनले सरकारसँग तीन बुँदे सहमति भएपछि अनशन तोडेका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको सरकारी वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो।

सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायतका विषयमा एकवर्षे इन्टर्नसिप गर्ने चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने प्रस्ताव चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ।

त्यस्तै, हरिजनका अन्य माग सम्बोधन गर्न आयोगले प्रक्रिया अघि बढाइरहेको सहमतिमा उल्लेख छ। माग सम्बोधनका लागि पहल गर्ने सहमतिपछि उनले अनशन अन्त्य गरेका हुन्।

हरिजन यसअघि पनि गत साउनमा यही विषयलाई लिएर अनशन बसेका थिए। त्यसबेला सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धतासहित साउन २२ गते उनीसँग सम्झौता गरेको थियो। तर माग कार्यान्वयन नभएको भन्दै उनी पुनः अनशनमा बसेका थिए।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस