पद्म नर्सिङ होमको शय्या विस्तारमा आर्थिक लेनदेनको आरोप, सचिव बसौला जिम्मेवारीमुक्त
पोखरा । पद्म नर्सिङ होमको शय्या विस्तार तथा नवीकरणसँग जोडिएको आर्थिक लेनदेनसम्बन्धी आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको छ।
प्रदेश मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले डा. बसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको हो। प्रकरणमा तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र सचिव डा. बसौलाको नाम जोडिएको छ।
पोखरा–३, नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० बाट १०० शय्यामा विस्तार गरी सञ्चालन अनुमति दिने तथा नवीकरण गर्ने क्रममा आर्थिक लेनदेन भएको आरोपसहितको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको थियो। सामग्रीमा २० लाखबाट सुरु भएको रकमको कुराकानी २५ लाख हुँदै ३० लाख रुपैयाँसम्म पुगेको दाबी गरिएको छ।
प्रदेश सरकारले घटनाको छानबिन गर्न उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। साथै, अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ।
डा. बसौलाले भने आफूले नियमअनुसार काम गरेको दाबी गर्दै सार्वजनिक भएका आरोपमा आफ्नो संलग्नता नरहेको बताएका छन्। छानबिन समितिको प्रतिवेदनबाट वास्तविकता बाहिर आउने उनको भनाइ छ।
छानबिन पूरा नहुँदासम्म पद्म नर्सिङ होमको स्तरोन्नतिसम्बन्धी अनुमति कार्यान्वयन नगर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ।







-1789971833..jpeg)





..jpeg)





प्रतिकृया दिनुहोस